८ असोज २०८०, सोमबार

भ्रष्टाचारी न दलको हुन्छ न देशको, यस्तालाई बहिष्कार गराैँ : उपसभापति गुरुङ

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ६:५७

भैरहवा । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”

उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले भने, “मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितें ।

मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरूजस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न । समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो ।”

उनले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गरे । गुरुङले भने, “भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविकरूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend