नारायण शर्मा ।
राष्ट्रियता संकटमा छ
मित्र तपाईले भुगोल सोच्नु भयो होला
मैले इतिहासको कुरा गरेको
बुद्ध , वेदव्यास , पाणिनी
विध्यापति र तेन्जिङ नोर्गे सम्झेको
राष्ट्रियता संकटमा छ
मित्र तपाईले ईतिहास सोच्नु भयो होला
मैले वर्तमानको कुरा गरेको
लिपुलेक , कालापानी र मानेभञ्ज्याङ
सुस्ता अनि सोमेश्वर सम्झेको
राष्ट्रियता संकटमै छ
मित्र तपाईले धेरै ठूलो कुरो सोच्नु भयो होला
मैले सानो कुरा गरेको
इण्डियन टमाटरले बजार पिट्दा
बारीमा गोलभेडा कुहाउनु परेको
राष्ट्रियता संकटमा छ
मित्र तपाईंले खानाको कुरा सोच्नु भयो होला
मैले पहिचानको कुरा गरेको
उत्तर र दक्षिणबाट आउने
गम्छा , खादा र ढाका टोपिको कुरा गरेको
राष्ट्रियता संकटमा छ
मित्र तपाइले बजारको कुरा सोच्नु भयो होला
मैले मान्छेको कुरा गरेको
हजारौं रहर बन्धकी राखेर
बाकसमा फर्कनेहरु सम्झिएको
राष्ट्रियता संकटमा छ
मित्र तपाईंले साम्राज्यवाद र बिस्तारबाद सोच्नु भयो होला
मैले दलालहरुको कुरा भनेको
दौरा सुरुवाल लगाएर
रास्ट्रघात गर्नेहरुको कुरा गरेको
राष्ट्रियता भयंकर संकटमा छ
तपाईंले जनताको कुरा सोच्नु भयो होला
मैले सरकारको कुरा गरेको
खेती गर्ने बेलामा मलखाद
पैंचो माग्नु पर्ने दरकारको कुरा गरेको
राष्ट्रियता इतिहास र भूगोल
खोला र जमिन मात्रै हैन
राष्ट्रियता स्वाभिमान हो
स्वाधीनता र आत्मसम्मान हो
संघर्षको रुप
केवल जिन्दावाद र मुर्दावाद मात्रै हैन
उत्पादन र आत्मनिर्भरता पनि हो
राष्ट्रियता संकटमा छ
आउनुहोस राष्ट्रिय स्वाधीनताका खातिर
अर्को एउटा बलिदानी संघर्ष गरौं
कोदोको पिठो र कनिकामा पनि
अर्कैको भर पर्ने छोडौं
मान्छे बेचेर मस्यौरा किन्ने
यो दलाल व्यवस्था फेरौं ।