काठमाडौं । सरकारले आइतबाररदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिइरहेको वैदेशिक रोजगार कार्यालय, काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन लागेको हो ।
श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाई छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताएका छन् ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको जानकारी दिएका छन् ।