२३ असार २०७९, बिहिबार

कृषि बिकास बैंकको १५ औँ वार्षिक साधारणसभाबाट २० प्रतिशत लाभांश पारित

लेखाजोखा न्यूज

२९ पौस २०७८, बिहिबार ४:५४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७-७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ।

भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा आज सम्पन्न सभाले आर्थिक वर्ष २०७७-७८ का लागि प्रस्तावित लाभांश पारित गरेको हो।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।

सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सम्पन्न सभाले सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरेको छ । यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

बोनस सेयर जारीपछि बैंकको अधिकृत पुँजी तथा जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

सभाले बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनी र सम्बद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ ।

सभामा बैंकको वार्षिक प्रतिवेदनमाथि छलफलका क्रममा शेयरधनीले उठाएका प्रश्नको जवाफ दिदै अध्यक्ष केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे।

सभामा विभिन्न निकाय, संघसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी र बैंक सञ्चालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाशकुमार सन्जेल, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाईं, डा.इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति थियो। सभा सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए।

कृषि विकास बैंकले देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २७९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend