ढोकेको ढलीमली प्रवल बन्‍नु हुँदैन पर्दा र पर्खालहरु पदचापका अभियानहरुमा

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार ११:२२

राँझा औंसीको राँको जस्तै रन्किएको छ । मान्छेहरु राँकोको पछि पछि लागेका पुतली भएका छन् । आगोको मुस्लो राँझातिरै बास बसेको छ कि के हो पंखा र वातानूकुलित यन्त्रका प्रयास फिका फिका लागिरहेछन् ।

भदौ महिना । नेपालगञ्जको गर्मी । कर्णाली प्रदेशमा हुस्सु, कुहिरो, भेल र वर्षाको बिगबिगीको खबर छ । हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट जस्ता कर्णालीका अङ्ग अङ्ग पुग्न चाहनेहरु राँझा विमानस्थल वरिपरिका होटल र लजमा कोच्चिइरहेछन् । बिमान उड्ने हो होइनको अडकल र चर्चा परिचर्चामा समयले छोड्दैछ क्यालेण्डर । भाद्र बाह्र गते राँझा ओर्लेका हामी पन्ध्र गते पनि हुम्ला जाने बिमानको त कुरै छोडौं टिकटको लागि नाम दर्तासम्म गराउन सकेका छैनौ । डोल्पा र कालिकोट जाने महालेखाकै अरु मित्रहरु पनि राँझामै वल्लो कुना र पल्लो पसल चाहरिरहेछन् ।

सबैलाई रोक्न माहिर छ राँझा । सबैलाई अल्मल्याउन खप्पिस देखिन्छ राँझा ।

‘राँझा कुरेको आज सत्र दिन भयो, अझ कतिदिन उड्न नपाउने हो ?’ — डोल्पा जाने सुरमा राँझामा रोकिएका कृष्ण बहादुर शाही आफ्नो दुखेसो पोख्दैछन् । ‘हिजो एउटा बिमान हुम्ला गएछ आफूले त कहिले टिकट पाउने हो, सातु सामल बिना सुक्न पर्ने भो’ — हुम्ला जाने अर्का मित्र वताउँदै थिए ।

‘कर्णाली प्रदेश बिकटताको बम्फसेलमा बाँचेको चर्चा चल्छ राँझामा घरिघरि । सडकको स्याँईसुँई नदेख्नेहरु कति छन् कति कर्णालीमा । ओखती नामको अवसर जिन्दगीभरी नभेट्नेहरु झन् कति कति । बिद्यालय नबुझ्‍ने र विद्यालय देखेर पनि बिद्यालयको अर्थ नबुझ्‍नेहरु अझ कति कति । पैदल आवत जावत झनै टाढाको कुरा छ त्यहाँ । पाइताला राख्नै नमिल्ने बाटो । न घोडा, खच्चर हिडाउँन मिल्ने गोरेटो । क्षण क्षणमा मौसम बिग्रनाले हवाई सम्पर्कपनि नाम मात्रको । कर्णाली अझैं अप्ठेरो भीरको तरुल बनेर बाँचिरहिछिन्’ — डोल्पाका यज्ञप्रसाद उपाध्याय कर्णालीको चित्र दर्शाउनु हुन्छ राँझामै ।

कस्ती होलिन् हँ हुम्ला ?

परेवाको गञ्जक वरिपरिको धमिरे घर्सा बनेर बसिरहेछ राँझा । दुई तीन तले पक्की घरहरु, जस्ते र फुसे्र टहराहरु, जतासुकै भाते र माते होटलहरु, जतासुकै रिक्सा, टेम्पु, ट्रक र माइक्रोहरुको ओहोर ओहोर र व्यस्ततामा जुरुक्क उठलाझैं गर्छ राँझा । राँझामा ‘ॐ मणिपदमे हुँ’का तोरणहरु तन्किरहेछन्, अल्लाह गुहार्नेहरुका आवाजहरु गुञ्जिरहेछन्, विष्णु र शिवका बहस गर्नेहरु फेरिइरहन्छन् चौतारोहरुमा । रिक्साको चुरीफुरी चौपट्टै छ, चर्केको घाम जस्तै । होटल साहूजीहरु मीठो मुखमा भित्र्याउँछन् ग्राहकलाई । पसिसकेपछि ‘खाए खा नखाए घिच’को सूत्रमा सगबगाइरहेछन् ।

बख्खु लगाएका हुम्लीहरु, पुराना कोट भिर्ने जुम्लीहरु, ‘ॐ मणि पद्मे हुँ’ गाउने डोल्पालीहरु हिमालपार व्यापारका कुरा गर्न तम्सेका छन् ।

काठमाडौंबाट उडेको प्लेनमा राँझा ओर्लने यात्रु गमक्क पर्छ । कर्णाली जाने टिकट किन नपाइएला र ? उसको शेखी राजधानी जत्तिकै शिखर बनिरहेको हुन्छ । उ आफूलाई सम्पन्न सोच्छ, सम्वृद्ध सोच्छ । हिमाल पुग्ने हवाई टिकट नपाएपछि आनन्दपूर्वक कुर्न नेपालगञ्ज पुग्छ । मुखैमा बसेको राँझालाई महाराजको सबौरी सामुको माग्ने ठानेर नेपालगञ्जतिर हुत्तिन्छ उ । भन्छ – ‘कौन पुछे खेसरीका दाल ।’ खल्तीमा दाम भएसम्म नेपालीलाई कसले छुने । राँझाबाट पन्ध्र रुपैयाँमा बिक्रम टेम्पुले धम्बोजी पुर्‍याउँछ भन्ने उसलाई के पत्तो ? भोकाएका जुका जस्ता माइक्रो वा भ्यानमा चारसय र रिक्सामा एकसय दस्तुरी बुझाउँछ र सुर्खेत रोड, धम्बोजी, घरवारी टोलमा टाँसिएका होटल लजका कोठामा सगर्व छिर्छ । नेपालगञ्जमा जति दिन बसेपनि हिमालपुग्ने टिकट नास्ती । दिनानुदिन होटलको वातानूकुलित कोठानै पोल्न थाल्छ उसलाई । यात्राको अनुमानित खर्च अनुमानित समय अगावै कुलेलम ठोक्न थालेपछि आत्तिन थाल्नेछ यात्रु ।

नेपालगञ्ज बजारका ठाँउ ठाँउमा ट्राभल एजेन्सीहरु छन् तर टिकट दिँदैनन् कर्णाली उड्ने । यति, सीता, नेपाल एयरलाइन्सका हवाईजहाजहरु कर्णालीका कुना कुना पुग्ने प्रचार छ तर तिनका कुनै पनि कार्यालयबाट टिकट पाइने नपाइने आधिकारिक जवाफ पाइँदैन । टिकट माग्यो । ‘हेर्दै जानुहोस् महिनौ अघिदेखि टिकट नपाउनेहरु कुरिरहेछन्’ — जवाफ आउँछ । क्यूमा नाम चढाइदिन अनुरोध गर्‍यो । ‘त्यसो गर्न नमिल्ने जवाफ आउँछ ।’ टिकट पाउनु त कता हो कता ।

आवश्यक जानकारी सम्वन्धित पक्षले नदिंदा गमक्क गम्कने नेपालीको परम्परा भएको छ, संस्कृति सिर्जिएको छ । शक्ति हातमा पर्ने आफूलाई शेर ठान्छ र अरुलाई शिकार गर्न दाह्रा नङ्ग्रा उज्याउँछ । अरु मुलुकमा ‘सूचना’ जनताको हकको रुपमा स्थापित छ । हाम्रोमा सूचना लुकाउनसक्ने शेर बन्छ ।

कर्णाली पुग्ने हवाई टिकट सोध्दै घरि सुर्खेतरोड, घरि धम्बोजी, घरि राँझा, घरि फुलटेक्रा गर्दा गर्दै थकित बनिसक्छ यात्री ।

बजारमा भौतारिंदा भौतारिदैं आफ्ना नौ नारी खिचिएको आभाष पाउँछ । हरेक चिजको बील क्षण क्षणमा चढ्दै जानु तर, कर्णाली यात्राको टिकट कन्तुरमा सिल्भरफिसले चपाएको कुप्राबाजेका पालाको रसिद जस्तो हुनुले यात्रु ‘रनभुल्ल नगरीको बेवारिसे बहर’ बन्न बाध्य हुन्छ ।

नेपालगञ्ज नगरीमा टिक्न नसकेपछि यात्रु सोच्छ – ‘अव वातानुकूलित कोठा कुरेर भएन । सधैं शहर बजारको रमझम खोजेर पनि भएन । जानु प¥यो राँझा । बजारमा गाँजा खाएको गँजडीझैं लरखराउँदै हिंडेपछि राँझाले उँडाउला नि कुनै दिन ।’ उ सुइय सुस्केरा हाल्दै राँझा फर्कन्छ । ‘तातो पानी नतताईदिए के गर्छाै त ?’ भन्ने गर्जनमा ‘चिसै पानीले नुहाउँछु’ भन्ने पलायनजनित परिवेशमा फर्कन्छ उ ।

हवाईजहाजको टिकट नपाउने यात्रु राँझाकोलागि गँजडीको गाँजा जस्तै हो । उसको लागि नयाँ यात्रु भोको जुकाले थलथले मासुको नसा भेटे जस्तै हो । बाह्र गते नयाँ सडक नेपालगञ्जको ताज होटलमा बसेका हामी तेह्र गतेनै लोप्रेकान लगाउँदै राँझाको शरणमा पुग्यौं ।

कर्णालीको लागि यात्रुहरु आउँन् तर, कयौं दिन जान नपाउँन्’ — यस्तै सोचेर बस्छ राँझा । ‘एक दुई दिनमा त उडिहाल्छ नि’ जहाज । मै पनि टिकट मिलाईदिन प्रयास गरुँला’,— होटलका मालिकहरु नौनीजस्तो आश्वासन फ्याँक्छन्, जसलाई यात्रुले नसुँघी सुख्खै छैन । यात्रु माखेसाङ्लोमा पर्छ । उम्कन खोज्छ । उम्कन सत्तैmन । हार खान्छ र टोलाउँछ । यो दृश्यको केही झल्को मैले काठमाडौंको ग्वङ्गःबुँ वसपार्क वरिपरिका होटल, लज र म्यानपावर कम्पनीहरुले निर्माण गरेका संस्कृतिको बिम्बको रुपमा देखेको छु । गाउँका मान्छेहरु विदेश जान चाहन्छन् ।

म्यानपावरको ढोका ढकढक्याउँछन् । म्यानपावरको शब्दकोषमा ‘हँुदैन’ भन्ने शब्द हुँदैन । म्यानपावरको र होटलवालाहरुको लगनगाँठो असाध्यै कसिलो हुन्छ । त्यसैले विदेश जाने प्रकृया पुरा गर्ने नाममा महिनौ अघिदेखि काठमाडौं बोलाइन्छ । होटलमा राखिन्छ । शुरा र सुन्दरी चखाइन्छ । खेतबारी र गहना बेचेर विदेश जान चाहनेको रकम चट पारिन्छ । महिनौ होटलमा बसेपछि बल्ल उडाइन्छ र फसाइन्छ नयाँ समूहलाई । विदेशबाट फर्कनेहरु फेरि फस्छन् पुरानै शुरा सुन्दरीसँग । यसबाट मेनपाबर र होटल मालामाल । विदेश जाने आउने भने बन्छन् पुनः मुसिक भवः’ ।

राँझामा पनि त्यो संस्कृति राम्रैसँग राँकिएको रहेछ । ढोकेहरुको ढलपल चलेसम्म देश उँभो लाग्ने कहिले ?’

‘हवाई कम्पनीका कर्मचारी, ट्राभल एजेन्सीका मान्छेहरु र होटलवालाहरुको गोप्य अभियान हुन्छ यहाँ यात्रु फसाउँने’— पच्चीस दिन टिकटको लोभमा कुरेका कालिकोटका कर्णबहादुर बोहराले खुसुक्क बताए मलाई । प्लेन हरेक दिन चलेकै छ, तोकिएको दरभन्दा बढी भाडा असूल्न पाउने वा नाता संम्बन्ध वा सोर्सफोर्सका मान्छेलाई ऐन मौकामै उडाइएकै छ । त्यसबाहेक यात्रुको लामो काल्पनिक सूची बनायो, महिनौ उड्न पालो नआउने घोषणा ग¥यो, मौका मिले छिट्टै उडाइदिउँला भन्ने आश्वासन पस्कियो, होटलवालासँग हप्तेवारी र महिनावारी असूल्यो ।
होटलवालाको होटल खचाखच, हवाई कर्मचारी र ट्राभल एजेण्टको पकेट पटापट । महिनौ लगाएर एक यात्रुलाई उडायो, त्यही हविगतमा हुल्यो अरु हजारौंलाई । यस्तै छ हजूर राँझाको हाल’ — बसिबियाँलोमा सबै यथार्थ बके बोहराजीले ।

‘लौ है जहाज डोल्पा जाने भो’ अरे’ – राँझामा एउटा हल्ला फैलिन्छ । यात्रुहरु खस्न लागेको तारा टिप्न हुत्तिएझैं गुण्टा च्याप्दै रिक्सामा विमानस्थल पुग्छन् तर, त्यो सत्य हुँदैन । ‘हुम्लाको मौसम सफा भयो अरे’ – फेरि अर्को हल्ला फैलिन्छ । यात्रीहरु कमिले ताँती बनेर विमानस्थलभित्र कोच्चिन्छन् । त्यो पनि हल्ला मात्र हुन्छ । उड्न पाइने भयो भनेर होटलको बिल चुक्ता ग¥यो । एयरपोर्ट पुग्यो । उदास अनुहार लिएर पुरानै होटलमा फर्कियो ।

आफू बसेको कोठा अर्कैको भैसक्छ । आफू सुतेको ओछ्यान अर्कैले तताइसक्छ । बिहानसम्म लडिबुडी गरेको ओछ्यानमा आफू अडेस लाग्न पर्ने भो । अरुले दुर्गन्ध छोडेर हिँडेको कोठा र चर्पीमा नाक थुन्दै आश्रित बन्नु पर्ने भो । तैपनि कोठा पाएकोमा साहूजीसँग कृतज्ञ बन्नै पर्ने । तर, त्यो हल्लाको खेल त रिक्सावालाहरुले आफ्नो पेशा पुल्पुल्याउने काइदा रहेछ, होटल साहूजीहरुले छिटो छिटो आफ्नो विल चुक्ता गराउने चलाखी रहेछ ।

राँझा यसरी नै राँकिइरहेछ । राँझा यसरी नै फाँकिरहेछ ।

‘कुर्नु कठिन काम हो’ – धेरै सहमत छन् । ‘कुर्नु आनन्दको सिमानातिर उकास्ने अभियान हो’ – मलाई लाग्छ । ‘कुर्नु प्राप्तिको पूजा हो’, म सोच्छु । कुराईको आनन्दमा कुरिकुरि हुन्छ, काउकुति जन्मन्छ । त्यसैले कुराई क्रमवद्धताका सुकिला लिस्नाहरु हुन् । नत्र नकुरे भै’ गो । जिन्दगीले सबैभन्दा असहज परिस्थिति ‘मृत्यु’ त कुरिरहेछ भने अरु कुराईको के आइतबार । हुम्ला पुग्ने कुराइले म आत्तिएको छैन । प्रतीक्षाको फल मीठो हुन्छ भन्नेमा छु म । कुर्दा कुर्दै फल कुहिने पो हो कि — एउटा आँधी चल्छ मनमा, कहिले काहिं ।

कुर्नुको क्रमलाई नौलो कलेवर दिने प्रयास भयो । नेपालगञ्ज र यस वरिपरिका धेरै साहित्यकार मित्रहरुसँग साहित्यिक संलाप, सिर्जना आदान प्रदान र परिचय आदान प्रदानका शृङ्खलाहरु सरासर उठे कुराईको अवधिभर ।

भाद्र चौध गते मोतिमय बन्यो नेपालगञ्ज । मित्र खगेन्द्र गिरी “कोपिला”, अर्जुन पौडेल “निर्जन”, भोजराज शर्मा “नादिर” हरुले मेरो नेपालगञ्ज बसाई बढी उर्बरा बनाउन खोज्नु भयो ।
महेन्द्र पुस्तकालय रानीतलाउमा एकसय त्रिचालीसौं मोति जयन्ति मनायौं धेरै साहित्यकारहरु जुटेर । बहुभाषिक गजल गोष्ठि नाम दिएको त्यो कार्यक्रममा नेपाली, उर्दू, हिन्दी, अवधी भाषाका गजलको वर्षा भयो । दिउँसो बाह्र बजेदेखि साँझ पाँच बजेसम्म गजल बहार फैलिरहयो ।

गजलहरु खारिएका, अर्थपूर्ण र बौद्धिक थिए । गजल शास्त्रीय मान्यताबाट प्रयोगका पालुवाहरुमा फस्टाउँदै थिए । प्रकाश राजापुरी, हायात नेपाली, श्रवण खनाल, युगज्योति क्रियाशिल, कपिल न्यौपाने “अञ्जान”, खगेन्द्र गिरी “कोपिला”, भोजराज शर्मा “नादिर”, चक्र बहादुर “चन्द” जस्ता स्रष्टाहरुले गजललाई फूल जसरी फैलाइरहेछन् जून जसरी बचाइरहेछन् ।

प्रमुख अतिथिको आसनबाट मैले त्यही बोलें । गजलमा हुनु पर्ने र नपर्ने कुराहरु पनि भनें । स्रष्टाले गर्नु पर्ने व्यवहारलाई प्रष्ट्याएँ । साह्रै चाखलाग्दो कार्यक्रम बन्यो त्यो ।

रेडियो भेरी एफ.एम. सुर्खेतले तेह्र गते राती सवा नौ देखि दश बजेसम्म गीत र गजल सम्वन्धमा प्रत्यक्ष अन्तरवार्ता प्रसार गर्‍यो मेरो । चौध गते पनि गजल कार्यक्रम सकिएपछि भाइ दीपक आचार्य ‘जलनले’ रेडियो फूलवारी एफ.एम. का लागि अन्तरवार्ता लिनुभयो ।

मान्छेको संपर्क उसको इच्छा अनुकुलनै हुन्छ, मान्छेको संबन्ध उसको पहिचानसँगै हुन्छ । साहित्यको जात, धर्म र लिङ्ग साहित्य नै हो । त्यसैले जहाँगएपनि एकैक्षणमा चिनाजानी हुन्छ, आत्मियता बढ्छ साहित्यकारबीच । अनि, केहीबेरमा संसार बनिहाल्छ आफ्नै, मायालु र अर्थपूर्ण । जुन जिल्लामा पुगेपनि साहित्यकारहरुको र साहित्यका पारखीहरुको माया पाउँदा यही सोच्छु म । यो अरु क्षेत्रका मान्छेहरुमा पनि लागू हुन्छ नै । आखिर भेडा भेडासँग बाख्रा बाख्रासँग भनेको यही त हो नि ।

नेपालगञ्जमा रोकिनु मेरो लागि साहित्यिक सञ्जाल विस्तारको लागि अलिकति भएपनि सुखदमय भयो । एउटा साहित्यकारलाई फुर्सद हुँदैन, साहित्यकारको लागि फुर्सदनै सिर्जना हो । कुराईले ममा क्रियाशीलता दियो, मनमा कल्मष कचल्टिन पाएन । यो उत्साहका आँकुरा नभए अरु के हुन सक्छ । कुराईमा काँचुली फेर्न सकियो भने काँडा बीचका फूलहरु मात्र होइन फूल वरिपरिका काँडाहरुले पनि अरुको लागि केही गर्न सक्तछन् । काँडा नहुने हो भने गुलाफका पत्रहरु कसरी सुरक्षित हुन्थे ? काँडा नभए कहाँ थाहा हुन्थ्यो र कटुसको मीठो स्वाद । फूर्सदलाई फक्राउन सक्नेहरुनै काउसोमा क्रियाशीलता देख्दछन् । म काउसोको माला लगाएर काउसो बन्दै फक्रिन चाहिरहेछु ।

काँडा ढोका हो फूल भेट्ने, हाड गुदी भेट्ने पत्र हो हाडेओखरको । म फलामका कडा ढोकाहरु पार गरेर जीवनका रङ्गिन बगैंचा छाम्न चाहन्छु ।

टाढा टाढा हेर्छु । फाँटमा धान बयेली खेलिरहेछ । बीच बीचमा आँप, गोलमोहर र शिशौंका हाँगाहरु छहारी छाडिरहेछन् । अशोक बृक्ष खजुर र बोटलपम्पका बृक्षहरुले राँझा राँकिएको छ हरियाली सौन्दर्यमा । ‘भदौरे घाममा हरियाली नभए के हुन्थ्यो होला’ – मनमनै सोचें मैले । होटलको कोठाको जालिदार झ्यालबाट बाहिर देखें — सर्लक्क सुकेको शिशौं रुख । जहाँ पात छैन । मसिना हाँगाहरु मक्किएर झरिसकेका छन् । त्यहाँ चरा वस्दैनन् । किरा फट्याङ्ग्रा उक्लदैनन् । मान्छेहरु रुख ढाल्ने कुरा गरिरहेछन् । हो, त्यही हुन्थ्यो जिन्दगीमा पनि रङ्ग नभए, हरियाली नभए । राँझा पनि रङ्ग खोज्दैछ, तर खोजाइमा मिहिनता र सही बाटो पहिचान भैसकेको देखिंदैन ।

म मेरो प्रिय हुम्लालाई भेट्न हुरुक्क छु । हुम्लाको छातीमा लडिबुडी खेलेर आफ्ना सारा सुस्केराहरु फैलाउन आत्तुर छु । तर राँझा अवरोध बनिरहेछ मेरो अभियानमा । भन्छ – ‘हुम्ला, कुहिरोले बेरिएर कक्रक्क परेकी छे । हुम्ला, वर्षभरिका पीडा समेटेर पानी बनेर बर्षदैछे । उत्साहका अङ्कुरहरु थात र थलाहरुमा उमार्दैछे । त्यस्तो बेलामा बिथोल्नु हुन्न ।’ भन्छ – ‘हुम्ला यार्शाकुम्बा खोजाईमा लखतरान भएर लडिरहिछे वा मानसरोवर यात्रामा तरिरहिछे । त्यस्तो बेलामा उसले अरुलाई भेटन मान्दिन ।’ राँझाका भनाइले म बिलखबन्दमा छु । राँझाले छकाउन खोज्दैछ, या फकाउन खोज्दै छ ।

प्रेमलाई पखेराले छेक्दैन । प्रेमले सल्लाह र साउती सुन्दैन । पाखो होस् वा पहिरो, चुच्चो होस् वा गहिरो प्रेमको लागि कतै पर्खाल हुँदैन । आफ्ना अठोटको लागि धैर्यको धरहरा खडा गर्न तयार छु । कत्तिञ्जेल नफाट्लान् कठोर बादलका पल्लाहरु हुम्लाबाट । कतिञ्जेल बगिरहला अन्यौलको पहिरो हुम्लामा । कतिञ्जेल बनिरहला थिलथिलो छाती हुम्लाको । म राँझालाई हुम्लामा र हुम्लालाई राँझामा सार्न खोजिरहेछु । मेरो सपना साकार भयो भने राँझामा हुम्लाको महक फैलिनेछ, हुम्लामा राँझाको हरक फैलिनेछ । दुवैले निकाल्नेछन् एउटा बेग्लै स्वाद र सौन्दर्य । त्यतिखेर निकै फक्रिसकेकी हुनेछिन् मेरी हुम्ला ।

म हुम्ला भेट्न राँझामा कुर्न पर्ने क्षण होइन राँझा भेटन हुम्लामा कुर्नुपर्ने क्षणको खोजिमा छु ।

गन्तव्य नभेटनु यात्रा शुरुवातनै नगर्नु हो । राँझाका पसल छेउमा प्रशस्त सदाबहार फूलहरु फक्रिरहेछन् । म एउटा मात्र ढोका छोडेर ढोकाबाट कर्णाली सुमसुम्याउन चाहिरहेछु, हुम्ला हसाउँन चाहिरहेछु ।

हुनै नपर्ने भीड अस्मेल छ राँझामा । हुनै नपर्ने हतार र उछिनपाछिन छ राँझामा । निराशाका आशाहरु विमानस्थल र वरिपरि बजारमा बुर्कुसी मारिरहेछन् । उता हिमालतिर बूढा बा आमा मझेरीमै बेहोस् बनेका खबर छ, सुत्केरी व्यथाले गर्भिणी र नवजात शिशु प्राणहीन बनिसकेका खवर आइरहेछन् एक ट्याब्लेट औषधी नपाएर, एक मुठी अन्न नभेटेर र पाइएको अन्नको विषादीले गाउँनै सखाप भएको खबर फैलिएर राँझाका कुरुवाहरु आगोको भुङ्ग्रोमा परिरहेछन् । मन उता छ, तन यता छ । मन र तन एकै ठाउँमा नहुँदा फक्रन सकेको छैन कतैपनि शीतल जून ।

बिमानबाट कर्णालीका जिल्ला आवतजावत गर्ने द्वार हो राँझा । हिमालतिर पठाउन खोज्ने तर, रोक्ने ढोका भएको छ राँझा । पाइतालाले छाप छोड्न असाध्यै गाह्रो छ । गाडी गुड्ने नामो निशान छैन । बिमान चढ्न होइन हेर्न पनि दुर्लभ छ । त्यसैको फल चाख्दैछ राँझा । ढोकेकै बिगबिगी छ हाम्रो देशमा । हाकिम भन्दा निजी सचिवको बोलवाला चल्छ । शालिग्राम भन्दा अझ निख्खर कहलाउँछन् कालिगण्डकीका शिलाहरु । बिहे गर्ने केटा र केटी भन्दा लमीको लहनतहन छोइनसक्नु हुन्छ । ‘हँसिलो मुख धमिलो पेट’ हुनेहरुको बिगबिगी चलिरहेको बेला राँझा पनि किन नसुरियोस् पानी धमिल्याएर माछा मार्न ।

देशका हरेक ठाउँमा राँझा फैलिएको देखिंदैछ अचेल ।

यात्रामा अवरोध ल्याउनु अपराध हो । यात्रामा कसैले हस्तक्षेप गर्नु हँुदैन । भोलिको विहान मेरा आँखाले हुम्ला हाँसेको हेर्न चाहन्छन् । ‘कसैको पनि यात्राका आँकुराहरु निमोठ्नु हुँदैन है राँझा’ — म तिमीलाई आफ्नै ठानेर सम्झाइरहेछु ।।

राँझा विमानस्थल, नेपालगञ्‍ज
बुटवल होटल, राँझा
२०६५ भाद्र १५ गते, आइतबार