कविता : दलदल सिर्जन अविरल

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १०:५८

तिम्रो अनुहार हेरेपछि
जगैबाट हल्लिएको छु अहिले
छाम्दै छु प्रत्येक बिहानलाई
मौलिक स्वरूप गुमेपछि
कसरी बदलिन्छ दृश्य ?
विचारबाट स्खलित भएपछि
कसरी सकिन्छ मान्छे ?
प्रेमी बदल्दै हिँड्ने सहरकी नामुद गणिकाजस्तो
मौन छ तिम्रो अनुहार दलदलमा भासिएपछि ।
सहरसम्म पुगेको हुँ ,खोज्दै खोज्दै तिमीलाई
कुर्दाकुर्दै तिमीलाई
घाम डुबाएको हुँ आँखामा
र फर्किएको हुँ ,
तिमी दलदलमा खसेको खबर पाएर ।
मैले चढाएको अनमोल समयलाई टिपेर
सायद जोडिरह्यौ भत्किएको सपना
सामिप्यताको हजारौँ पलले सायद मेट्दै गयौ रिक्तता
सल्काएर आफ्नै सपना
तिमीलाई दिएको हुँ उमेरको किम्ती समय
जान्दाजान्दै बिगारिरहेँ लयमा हिँडिरहेको बाटो
अब बारबार सक्दैनौँ हिड्न
तिमीले बदल्दै गएको बाटो ।
प्रत्येक हिँउद र झरीमा
दु:खकै कोरस गाएर जोगाइरहेँ तिमीलाई
पिन थुतेर तयार गरेको सकेट बम हातमै पड्काएर
देखिरहेँ सपना तिम्रो आँखामा ।
कहीँ पुग्दैन कोही कुल्चिएर अरूलाई
जसरी कुल्चिरहेका छौ तिमी हाम्रो सपना
पख !
खरानी बनाउँछु कतिलाई समयको आगोमा ।
सिर्जन अविरल