जीवन-धारा डा. टेकराज पन्त

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १०:५२

मान्छेको जुनिमा जन्म, लिएर मात्र, के हुनु ?
यदि, मानवता छैन, बाँचेर मात्र, के हुनु ? ।१।

को होला, विश्वमा प्राणी, यस्तो अदृश्य, अद्भुत?
नारी-शक्ति बिना, जस्को,होला, जीवन सम्भव ? ।२।

कद होंचो भएकै छ, मैत्रीको, प्रेमको पनि ।
तथापि, व्यक्तिको दाबी, हुँदैछ, उन्‍नति भनी ।३।

पीइ रहेकै सधैं हुन्छौं, जिन्दगीको हलाहल ।
देखिन्‍न, तैपनि, हाम्रो, नीलोकण्ठ, कठैबर !।४।

कस्तूरी जत्तिकै मूल्य, कहाँ होला, कपूरको ?
स्वर्णले दिन सक्ला र,सन्तुष्टि, कोहीनूरको ?।५।

कस्तो यो चाहना होला, कस्तो होला, विडम्वना !
भोग्नु पर्ने सधैं पीड़ा, शान्तिको हुनु कामना ! ।६।

न बिर्सौं, संस्कृति आफ्नो, नत्र संहार गर्दछ।
जरोमा चोट लागेमा, बृक्षले सुक्नु पर्दछ ।७।

लज्जाबोध भएकै छ, नारिको, सुनी, क्रन्दन।
जस्ले जन्म दियो पाल्यो, उसैको मान- मर्दन ।८।

प्रेम, विश्वासले मात्रै,हुन्छन्, सम्बन्ध, सुदृढ।
हुन्छन् अन्यान्न्य आधार,अस्थायी, परनिर्भर।९।

के ठग्छौ, दुनियाँलाई, के को हर्ष मनाउँछौ ?
अन्तमा, तिमि नै आफै,ठगिन्छौ, दु:ख पाउँछौ।१०।

दृढ संकल्पका साथ, जो कोही, अघि बढ्दछ।
श्रम सार्थक पारेर, लक्ष्यको प्राप्ति, गर्दछ ।११।

गुनासो, कसरी पोखुँ, कस्का सामु, गरुँ भन ?
पीड़ा पनि स्वयं मेरो, मेरो नै हो नि, पीडक ।१२।