जनताको जीवन रक्षाका लागि संसद्‌मा हंगामा गरेर भए पनि सरकारलाई बाध्य पारिन्छ : देउवा

लेखाजोखा न्युज
३० आश्विन २०७७, शुक्रबार १८:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधनमन्त्री शेरबहादुर देउवाले संसद्मा हंगामा गरेर भए पनि सरकारलाई जनताको जीवन रक्षाको व्यवस्था गर्न बाध्य पारिने बताएका छन् ।

पार्टीले गठन गरेको ‘कोभिड–१९ अनुगमन समिति’ ले तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा शुक्रबार सभापति देउवाले जनताको जीवन रक्षाको व्यवस्थाका लागि सरकारलाई वाध्य पार्न संसद्मा हंगामा गर्ने बताएका हुन् ।

“दसैंपछि देशव्यापी आन्दोलन गर्छौं । संसद बोलाउन लगाएरै छोड्ने छौं । जनताको जीवन रक्षा व्यवस्था गर्न सरकारलाई वाध्य पार्छौं,” सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको अनुगमन समितिको प्रतिवेदन बुझ्दै उनले भने ।

महामारीका कारण कांग्रेसले सरकारलाई सही बाटोमा ल्याउन आन्दोलन गर्न नसकेको उनको भनाइ थियो । “यो महामारीका बेला गर्ने कि नगर्ने कुरा छ,” सभापति देउवाले भने ।

सरकारले नागरिक ‘मरे मरुन’ को व्यवहार देखाएको उनले आरोप लगाए । जनताको स्वास्थ्य महत्वपूर्ण भए पनि सरकारले त्यसलाई महत्व नदिएर भ्रष्टाचार गरिरहेको देउवाको भनाइ थियो ।

“कोरोनामा यति मान्छेहरु मरिरहेका छन् सरकार त्यसमा पनि भ्रष्टाचार गरिरहेको छ,” उनले भने, “सरकारले जनताको वास्ता नै गरेको छैन । मतलबै छैन, चिन्तै छैन । मरे मरुन भन्ने कुरामा सरकार लागिराखेको छ ।”

अनुगमन समितिले सभापति देउवालाई बुझाएको प्रतिवेदनमा महामारी रोकथाममा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालिएको छ ।