दसैंका लागि दिइने नयाँ नोटमा कोरोना !

लेखाजोखा न्युज
२५ आश्विन २०७७, आईतवार १७:५३

काठमाडौं । हरेक वर्ष दसैं नजिकिएसँगै नयाँ नोट साट्‍ने ठूलो उत्साह हुने गर्दथ्यो । विगतका वर्षहरुमा नयाा नोट साट्‌नका लागि दसैंको केही दिनअघि देखि नै बैंकमा मानिसहरको ठूलो भिड हुने गरेको छ ।

तर, यस वर्ष भने नयाँ नोट सटही कोरोनाका कारण प्रभावित भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै यस वर्ष दसैं लक्षित नयाँ नोट सटही नगर्ने जानकारी गराएको हो ।

नयाँ नोट सटही गर्दा बैंकमा भिडभाड हुने र नयाँ नोटबाट पनि कोरोना संक्रमण फैलिनसक्ने भएकोले नयाँ नोट उपलब्ध नगराउने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले पनि दक्षिण लिँदा नगदभन्दा पनि विद्युतीय कारोबार गर्न नागरिकलाई अपिल गरेको छ । गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नयाँ नोट सटही गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस वर्ष बडा दसैंको संघारमा आइपुग्दा कोभिड १९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिँदै गएको र नेपाल सरकारले यसको रोकथाम तथा नियन्त्रणको लागि तोकेको मापदण्डमा बैंकहरुमा बढी भिडभाड हुन नदिने विषय उल्लेख छ । यस बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडा दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”