देशको चिता नजलोस् !

भीम उपाध्याय
२४ आश्विन २०७७, शनिबार ११:४६

अनसनको २६ औं दिनमा शुक्रबार डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको रातिको वार्ता पनि निष्फल भयो । डा. केसीको स्वास्थ्य जटिल मोडमा पुग्दैछ, कुनै क्षण जे पनि हुन सक्छ । डा केसीको सत्याग्रह अनसनको आज २७ औं दिन हो । यो आजसम्मकै सबैभन्दा लामो अनसन हुन पुगेको छ ।

सरकार गैरजिम्मेवारी मात्र होइन आफू र आफ्नो दललाई पतनको बाटोमा हिँडाउन थालेको पनि देखिँदैछ । यसरी लापरबाह बन्दै गएर केही अनर्थ हुन पुग्यो भने सरकार, तिनका दल र नेताहरूले भर्पाई हुन नसक्ने अक्षम्य र प्रायश्चित्तहीन खति व्यहोर्नुपर्नेछ । तिनले मजाक नगरून् ।

यस्तो पाराले हालका नेताहरूको आजसम्मको योगदान टुकुचामा बग्‍ने त छँदैछ, तिनलाई यो मुलुकभित्र बसेर बाँकी जीवन बॉच्‍न मुस्किल पर्न सक्छ । आज डा. केसीको मागको समर्थनमा उनको जीवन रक्षार्थ विभिन्‍न कार्यक्रमहरू हुँदैछन् । जनता जुर्मुराएका छन्, सरकार र नेताहरूप्रति आक्रोशित र तिरस्कारको मुडमा छन् । अहिले जनताले आ-आफ्नो तर्फबाट योगदान गरिरहेका देखिन्छन् । सरकारइतरका सबै राजनीतिक दलहरू, बुद्धिजीविहरु, प्रबुद्ध वर्गहरू डा. केसीको जीवनरक्षार्थ अपिल गरिरहेका छन् ।

भ्रष्ट मेडिकल माफियातन्त्रविरुद्धमा डा. केसीले १९औँ पटक यसरी निरन्तर गर्दै आएको जनताले चुनेका भनिएका कथित लोकतान्त्रिक दलहरू र सरकारविरूद्धकै सत्याग्रहको क्रममा यसरी नै लड्दालड्दै यदि उनको प्राण गयो भने त्यसपछि नेपाली जनताले भविष्यमा कहिल्यै आफ्नो मुखमा पोतिएको कालोमोसोको पाप पखाल्न सक्ने छैनन् । नेपाली जनता, दलहरू र नेताहरू सदाका लागि विश्वमै कलंकित हुनेछन् । त्यसको भूतले सपनामा पनि तर्साईरहनेछ । जसरी विगतको जनयुद्धको त्रासले आजसम्म हजारौं जनता विश्व र नेताहरूलाई तर्साउने गरिरहेको छ ।

त्यसपश्चात् जनताका तर्फबाट के कस्तो प्रतिक्रिया र आक्रोश छताछुल्ल हुने होला ? कमजोर मनस्थिति अलोकप्रिय सरकार र उपलब्धी प्रमाणित गर्न नसकेको गणतन्त्र र संघीयताका साथै तिनका पक्षधर नेताहरूको अवस्था के कस्तो हुने हो त्यो अकल्पनीय हुन सक्छ ।

गल्ती भएपछि चुक्चुकाएर पछुताउनुभन्दा गल्ती नै नगर्नु बुद्धिमानी हो । डा. केसीलाई आफ्नो प्राणको चिन्ता होइन, देश, गरिब जनता र पिछडिएको क्षेत्रहरूको स्वास्थ्य प्रणाली स्थापना गर्ने कसरी त्यो मात्र चिन्ता हो । जिउँदो रहँदा पूरा नभएको जनप्रिय मागहरू उनी मरेपछि पूरा गर्ने अभिभारा जनताले आफ्नो हातमा जबरजस्ती लिनपर्‍यो भने के-के हुनेछ ?

हामीले सरकारसँग र जिम्मेवार नेताहरूसँग डा. केसीको प्राण रक्षा गर भनेको हाम्रै हितका लागि उनले राखेका मागहरू पूरा गर भनेको हो । जसले जिवननै मेडिकल माफियातन्त्रविरूद्ध उत्सर्ग गर्दै आएको छ । उसले आफ्नो प्राणभन्दा मुलुक प्यारो भनेर सत्याग्रह गरेको हो । निर्विवाद, हाम्रो चाहना डा. केसी दीर्घायु हुनुपर्छ भन्‍ने हो । तर डा. केसीको आफ्नो चाहना आफू मरे पनि होइन मुलुक दीर्घायु र स्वस्थ रहोस् भन्ने हो ।

हाम्रा नेताहरूले त आजसम्म मुलुकमा डढेलो लगाएको लगाई गरेर कैयन नेपालीको चितामा आगो लगाएर मजाले आगोको न्यानो ताप्तै आएका हुन् । अहिले पनि ती नेताहरू क्वारेन्टिनमा हजारौं जनताको चिताको आगो र ज्वालामा रोटी सेकिरहेका देखिन्छन् । तर अब कथं डा. केसीको चितामा आगो सल्काउने दुर्भाग्य आईलाग्य भने त्यो धेरैका लागि अकल्पनीय महंगो र ईरिभर्सिबल खति हुनेछ, क्षमा हुने छैन। जनतालाई नजिस्काउनु बेस हुन्छ । जनताले आजसम्म आफ्नो चितामात्र जल्यो, दु:ख मात्र पाईयो भन्ने चित्कार गरिरहेका छन् ।

विगत ३ दशकदेखिको नेताहरूले कमाएका उपलब्धीहरू र नेताहरू अब चकनाचुर मार्गमा हिँड्दै गरेको प्रतीत हुँदैछ । तर अचम्म, यस्तो पूर्व कडा संकेतहरू आउँदा-आउँदै पनि अझै तिनीहरूको जाँडको कडा नसा उत्रेको देखिँदैन ।

सरकार र नेताजीहरू ! यसरी अमूल्य अन्ति क्षणमा डिलमा पुगिसकेको समय नष्ट नगर । वार्ताको नाटक गर्ने झन्झट पर्दैन । डा केसीका माग यथार्थ र व्यवहारिक छन्। सीधैं मागहरू पूरा गरेको घोषणा गरिहाल । डा. केसीलाई मात्र हैन, आफू, आफ्नो सरकार र मुलुकलाई भयंकर दुर्घटनाबाट जोगाऊ । समय खेर नफाल, समय फिर्ता आउँदैन । पछुताउने जोहो नगर । डा. केसीका माग होइनन्, ती जनताका माग हुन् ।

जनता हारेको महसुस गर्दै आउनु खतरनाक हुन्छ । सानो फिलिंगोले घना चारकोशे झाडी सखाप भएर खरानी हुनबाट जोगाउने एकल जिम्मा सत्तारूदल र सरकारको हो ।

(लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।)