२० मंसिर २०७९, मंगलबार

डा. केसीको जीवन रक्षाका लागि प्रवासबाट प्रधानमन्त्रीलाई अपिल

लेखाजोखा न्यूज

२२ असोज २०७७, बिहिबार ८:१८

काठमाडौं । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागसहित खाडी मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरुले सरकारसँग डा. गोविन्द केसीसँग वार्ता गरेर मागहरु पूरा गर्न आग्रह गरेका छन् ।

उनीहरुले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल पत्र पठाउँदै चिकित्सा शिक्षा सुधार र सुशासनका लागि सत्याग्रह गर्दै आएका डा. केसीको जीवन रक्षाका लागि आग्रह गरेका हुन् ।

“चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त बेथिति र मेडिकल माफियाविरुद्ध आमजनताका भलाइका लागि पटकपटक अनशनरत डा. केसीसँग गरिएका सहमति कार्यान्वयन नहुँदाको परिणाम आफ्नो अमूल्य जीवननै समर्पित गरी सत्याग्रह गर्न बाध्य डा. केसीसँग वर्तमान सरकारले गरेका अभद्र व्यवहार घोर निन्दनीय छ,” अपिलमा भनिएको छ ।

सम्मानानीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं

सत्याग्रही डा. केसीको जीवन रक्षाका लागि प्रवासबाट अपिलसहितको ज्ञापन पत्र

चिकित्सा शिक्षा सुधार र सुशासनका लागि पटक पटक सत्याग्रह गर्दै आउनु भएका डा. गोबिन्द केसीलाई तुरुन्त सरकारले वार्ता सुरु गरी जायज मागहरु पूरा गर्न र उहाँको जीवन रक्षाका निमित्त नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागसहित नेपाली जनसम्पर्क समिति अन्तर्गत रहेका खाडी मुलुकको तर्फबाट संयुक्त रुपमा प्रधानमन्त्रीलाई प्रवासमा रहेका लाखौ नेपालीहरु अपिल गर्दछौं ।

चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त बेथिति र मेडिकल माफियाविरुद्ध आमजनताका भलाइका लागि पटकपटक अनशनरत डा. केसीसँग गरिएका सहमति कार्यान्वयन नहुँदाको परिणाम आफ्नो अमूल्य जीवननै समर्पित गरी सत्याग्रह गर्न बाध्य डा. केसीसँग वर्तमान सरकारले गरेका अभद्र व्यवहार घोर निन्दनीय छ ।

विश्व महामारीको संकटमा फसिरहेका बेला सरकार जनताको स्वास्थ्य प्रति गम्भीर नभइ स्वास्थ्य सामग्री खरिद प्रकरण भ्रष्टचार कमिशन र आन्तरिक रमितामा रमाउनु जसका कारण हामी प्रवासमा रहेका लाखौं नेपालीहरुले पनि यो महामारीमा सरकार भएको अनुभूति गर्न नपाएको अवस्थामा डा. केसी को सत्याग्रह असान्दर्भिक भनेर हल्का टिप्पणी गर्नु आपत्तिजनक छ ।

डा. केसीको जीवन रक्षाप्रति गम्भीर हुन आग्रह गर्दै निम्न बुँदाहरुमा सरकारको गम्भीर ध्यनाकर्षण गराउन चाहन्छौं ।

१) प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन गरिएकोले आजको परिस्थिति आएको हो । त्यसैले आफुले गरेका सहमति प्रति सरकार गम्भीर होस् ।

२) डा. केसीको पछिल्लो अनशन जुम्लामा सुरु भएर नेपालगञ्ज हुँदै काठमाडौं पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दासम्म सरकारले प्रस्तुत गरेको व्यवहारले एक कर्मयोगीको अपमान मात्रै गरेको छैन, सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ । सरकार र सुरक्षाकर्मीहरुको उक्त व्यवहारको निन्दा गर्दछौं ।

३) नेपाली कांग्रेसको सरकारका पालामा चिकित्सा शिक्षामा विस्तार भएको चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. के.सी. का मागहरू पूरा गर्दै राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४ पनि जारी गरिएको थियो सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई बर्तमान नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने थियो । डा. कोसीको यो अनशनको समयमा बिराएको बाटोबाट ठिक बाटोमा आउन नेपाल सरकारलाई हार्दिक अपिल गर्दछौं ।

४) डा. केसीको स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि इमानदार वार्ता र सार्थक कार्यान्वयनमा तदारुकता प्रस्तुत गर्न सम्माननीय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछौं ।

निवेदक ः
नेपाली कांग्रेस सुचना तथा प्रचार विभाग सदस्य– बिमल सुबेदी
नेपाली जनसम्पर्क समिति युएई सभापति– भुवानी प्रशाद तिमल्सिना
नेपाली जनसम्पर्क समिति बहराइन सभापति– पदम सुन्दर राउल गुरुङ
नेपाली जनसम्पर्क समिति कुवेत सभापति– राजेन्द्र बिरही
नेपाली जनसम्पर्क समिति साउदी अरब सभापति– दिपक रेग्मी
नेपाली जनसम्पर्क समिति इजरायल सभापति– खगेश्वर अधिकारी
नेपाली जनसम्पर्क समिति कतार कार्यवाहक सभापति– शंकर न्यौपाने
नेपाली जनसम्पर्क समिति ओमान कार्यवाहक सभापति– सालीक चापागाइ

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend