२० मंसिर २०७९, मंगलबार

प्रा.डा. केसीसँग वार्ताका लागि सरकारबाट समिति गठन, को-को छन् समितिमा ?

लेखाजोखा न्यूज

२१ असोज २०७७, बुधबार ८:१४

काठमाडौं । सरकारले अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् ।

मंगलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि बुधबार समिति गठन गरिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।

डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको घोषणा भएको छ । टोलीमा डा अन्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल रहेको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया सुरु भइसकेको थिए ।

बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा. डा. केसीलाई आग्रह गरेको थियो । सरकारले प्रा डा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend