२० मंसिर २०७९, मंगलबार

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के लकडाउन हुन्छ ?

लेखाजोखा न्यूज

२१ असोज २०७७, बुधबार ७:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४३९ कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । सरकारले यसअघि देशभर २५ हजार सक्रिय संक्रमित भएमा लकडाउन घोषणा गर्ने बताएको थियो ।

कोरोना संक्रमितको संख्या पछिल्लो समय काठमाडौंमा बढी देखिन थालेको छ । काठमाडौंमा मात्रै बुधबार एक हजार ६ सयभन्दा बढी संक्रमित देखिएका हुन् । सरकारले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमण बढेको बताइरहेको छ ।

सरकारले नागरिकलाई मास्क लगाउने, अत्यावश्यकबाहेक घरबाहिर ननिस्किने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोग गर्नेबारे जनतालाई बारम्बार सुसूति गरिरहेको भए पनि संक्रमणको दर दिनानुदिन बढ्दै गएको छ ।

यसरी संक्रमण बढ्दै जानु र नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै मानिसहरुको चलहपहल पनि बढेको छ । सरकारले अहिलेको अवस्थामा लकडाउन जारी गर्ने विषयमा कुनै छलफल भने गरेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ७ गते सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले असोज ७ गते सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको प्रवक्ता डाक्टर गौतमको भनाइ थियो ।

काठमाडौंमा पछिल्लो समय भेन्टिलेटर र आईसीयूको संख्यामा कमी हुन थालेको स्वास्थ्य मन्त्रालयले स्वीकार गरेको छ । यस्तो अवस्थामा अब देशभर फेरि लकडाउन हुन्छ कि भन्‍ने चिन्तासमेत बढेको छ । अहिलेको अवस्थामा लकडाउनमा भएमा मुलुकको अर्थतन्त्र थप धराशायी हुने भन्दै सरकारलाई लकडाउनको विकल्पनमा नजान सिफारिस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend