निःशुल्क वाइफाइ परियोजनामार्फत नेपाल भित्रियो फेसबुक

लेखाजोखा न्युज
२० आश्विन २०७७, मंगलवार २१:२९

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्‍याउने परियोजनामार्फत् नेपाल भित्रिएको छ ।

विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल आएको हो । सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको लागि फेसबुकले नेपालको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको हो ।

लकडाउनअघि देखि नै फेसबुकले वर्ल्डलिंकसँगको सहकार्य सुरु गरेको भए पनि यसलाई भर्खरै सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिए ।

फेसबुकले निःशुल्क वाइफाइ हटस्पट व्यवस्थापनको लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्ता मैत्री हुने दाबी उनको छ ।

फेसबुकले विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्‍याउन एक्सप्रेस वाईफाई परियोजना सुरु गरेको हो । फेसबुकको यो परियोजना एसियाका दुई मुलुक नेपाल र भारतमा मात्रै कार्यान्वयन भइरहेको छ ।

योबाहेक अफ्रिकाका ७, दक्षिण पूर्वी एसियाका दुई, दक्षिण अमेरिकाका २ र उत्तर अमेरिकाको एक देशमा पनि यो परियोजनाले काम गरिरहेको वाइफाई एक्सप्रेस परियोजनाको वेबसाइटमा उल्लेख गरिएको छ ।

यो परियोजनामार्फत फेसबुकले विभिन्न देशमा विभिन्न मोडालिटीमा इन्टरनेटको पहुँच पुर्‍याउने काम गरिरहेको छ । नेपालमा पनि वर्ल्डलिंकले राखेको १० हजार फाइफाइ हटस्पटको संख्या बढाउन सहकार्यको लागि छलफल भइरहेको अग्रवालले जानकारी दिए ।