आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको तेस्रो जित

लेखाजोखा न्युज
१७ आश्विन २०७७, शनिबार २०:३८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ । यूएईको अबुधाबीमा शनिबार राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको एक सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा एक बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ५३ बलमा सात चौका र छ छक्का प्रहार गरे । कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो पाँच हजार पाँच सय रन समेत पुरा गरे ।

यस्तै देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे । आरोन फिन्च आठ रनमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले एक–एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा छ विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ पाँच रनमा आउट भए ।

रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल तेवतियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

बैंगलोरका युजवेन्द्र चाहलले तीन विकेट लिए । इसुरु उडानाले दुई तथा नवदिप सैनीले एक विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले चार खेलमा छ अंक जोडेको छ । राजस्थानको यो दोसो हार हो । छैटौं स्थानको राजस्थानले चार खेलमा चार अंक जोडेको छ ।