आईपीएलमा सनराइजर्स हैदराबादले दोस्रो जीत

लेखाजोखा न्युज
१७ आश्विन २०७७, शनिबार ०६:२२

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जीत निकालेको छ ।

गएराति दुबईमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई सात रनले पराजित गर्दै हैदराबादले दोस्रो जीत निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर एक् सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार रोक्न सकेनन् ।

कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए । साम करन १५ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । १९ वर्षीय प्रियमको यो आईपीएलमा पहिलो अर्धशतक हो ।
यस्तै अविशेक शर्माले ३१ रन जोड्दा मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए ।

चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले एक–एक विकेट लिए ।

जितसँगै हैदराबादले चार खेलमा दुई जीतसहित चार अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ ।

चेन्नईको यो तेस्रो हार हो । चेन्नईले चार खेलमा दुई अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।