३१ साउन २०७९, मंगलबार

कांग्रेस प्रदेश अधिवेशन : बागमती प्रदेशमा केसीको मनोनयन दर्ता

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १:२०

मकवानपुर। नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ।

प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ।

बिहान ८ बजेबाट सुरू भएको मनोनयन दर्ता गर्ने कार्यमा अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन। केसी पार्टीमा रामचन्द्र पौडेल समूहमा छन।

सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र भीमसेनदास प्रधानको नाम पनि चर्चामा छ। बानियाले भने शुक्रबारै प्यानल घोषणा गरेका छन।

बिहीबार औपचारिक रूपमा शुभारम्भ भएको प्रदेश अधिवेशनको दोस्रो दिन शुक्रबार निर्वाचन प्रक्रिया जारी रहेको हो। दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउने समयतालिका रहेको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिएका छन। काफ्लेका अनुसार भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुने छ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधीले भोट हाल्ने छन। अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend