३ माघ २०७८, सोमबार

कविता – जुनको माया

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १२:३६
श्याम राज ओझा

प्रिय जुन!
जब क्षितिजको एक कुनाबाट
तिमी आइपुग्छौ टुप्लुक्क
लाग्छ जाउ क्षितिजमै 
र खेलौ लाग्छ लुकामारी !
सार्है हितैसी लाग्छौ
मानौं कयौं बर्ष अघिका 
बालसखा हौ हामी।
जब खुला आकाशको मध्य भागमा पुग्छौ तिमी
अचम्म लाग्छ तिमिलाई आफ्नै ठानेर पनि 
छुन सक्दैन म।

हामी बीच दुरि धेरै छ
तर पनि सबभन्दा नजिक लाग्छौ
बेलाबेलामा बादलले षड्यन्त्र गर्छ
तिमिलाई छेकिदिन्छ चुक घोप्ट्याए झै
लाग्छ बादल उडाइदिउ हुरि बनेर 
अनि यहीँ निउमा
स्पर्श गरौं तिमिलाई हावा कै भेषमा।
दमनकारी ब्रह्माण्डमा तिमिलाई पनि
महसुस होला 
एक्लोपन, उदासीनता, थकान आदिआदी
तर जुन तिमी मुस्कुराइरहनु पर्छ
तिमी मलिन हुँदा म निराश भैसक्छु।

करोडौं ताराको बिचमा बस्ने तिमी 
म बुझ्झकी नबन्दै 
मेरो दिलमा पनि बसिसकिथ्यौ!
त्यसैले अहिले आएर 
हरेक दिन, हरेक छिन
महसुस गर्छु
मायाको रंग
मन भित्रको उमंग 
प्रेम पुकार्ने उत्कृष्ट ढंग 
तिम्रै यादको भारी यसै दिल संग 
प्रेमको आगन तिमिले नै बुझाएको हो मलाई

थाहा छ विशाल आकाशमा 
चम्किरहन तिमिलाई सजिलो छैन
जस्तो मलाई हाम्रो भेट नहुने कुरामा 
विश्वास गर्न सजिलो छैन!
औंशिको दिन म निराश हुन्छु
तिमी किन मुस्कुरायनौ सोचेर
त्यसैबेला तिमी आशु झार्छौ शीत बनेर
अनि लाग्छ हामी सङै छौं !

सारा धराले तिमिलाई छेकेपनी
यो प्रविधिको जमाना हो 
छुनेछु एकदिन अवश्य तिमिलाई 
छाम्न पाउनेछु तिम्रो छातिको माटो
यहीँ जुनिमा! 
यदि भएन भने पनि 
मरेर स्वर्ग पुगिन्छ भन्छ्न
स्वर्गै पुगेर अङाल्ने छु तिमिलाई 
चुम्नेछु तिम्रो हसिलो निधारलाई
यदि म भाग्यमानी रहेछु भने!

 किर्तिपुर


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend