३१ साउन २०७९, मंगलबार

६३७ स्थानीय तहबाट आजदेखि मतदाता नामावली संकलन गरिँदै

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १०:५१

काठमाडौं। निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दै छ। ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ।

त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल मतदाता नामावली संकलन भइरहेको छ।

मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने छ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने छ। संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन।

आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ। १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिने छ।

 


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend