१७ मंसिर २०७८, शुक्रबार

सौराहामा दुईदिने नेपाल-भारत साहित्य उत्सव हुँदै

लेखाजोखा न्यूज

२३ कार्तिक २०७८, मंगलबार ९:३७

चितवन । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो १९ औँ स्थापना दिवस पारेर यहि कात्तिक २७ र २८ गते दुईदिने नेपाल-भारत साहित्य उत्सव आयोजना गर्ने भएको छ । कार्यक्रम चितवनको पर्यटकिय स्थल सौराहाको होटल जङ्गल सफारी लजमा हुनलागेको हो ।

कार्यक्रमको नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उदघाटन गर्ने कार्यक्रम रहेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए ।

उत्सवका लागि भारत र नेपालबाट गरी करिब १ सय आवासीय अतिथि, र ठूलो सङ्ख्यामा गैर-आवासीय अतिथिको उपस्थिति रहनेछ । भारतको मणिपुर, असम, सिक्किम, दार्जीलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकारहरू आउनेछन् ।

दुई दिवसीय कार्यक्रममा नेपाल र भारतका अध्येताहरूबाट विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने छन् भने द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा तथा सबै सहभागीबाट रचना वाचनका कार्यक्रम पनि सम्पन्न हुने छन् । यस अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपध्याय, कथाकार एक नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने तालिका रहेको छ ।

साथै, लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई “कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार -२०७८” बाट सम्मानित गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी आख्यानकार श्याम शाह, कथाकाहरूहरू गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डी.आर. शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव-खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ ।

यसै अवसरका कविडाँडा साहित्य समाजले आयोजना गरेको “राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८” का विजेतलाई पनि पुरस्कृत गरिने कार्यक्रम रहेको समाजका अध्यक्ष क्षेत्रीले बताए ।

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend