२० मंसिर २०७९, मंगलबार

देशबासीका पीडा सम्बोधन नहुने कुण्ठाले भरिएको प्रधानमन्त्रीको ‘विशेष सम्बोधन’

प्रधानमन्त्रीले न स्वदेशमा न त विदेशमा अलपत्र र भोकभोकै रहेका जनतालाई सम्बोधन गर्न एक वाक्यसम्म पनि खर्च गरेनन्, जनतालाई नै सम्बोधन नहुने प्रधानमन्त्रीको सम्बोधन अर्थ के ?

लेखाजोखा न्यूज

३ असोज २०७७, शनिबार १२:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सम्बोधन गरेका छन् । यस सम्बोधनलाई ‘विशेष सम्बोधन’ भनिएको थियो । कोरोना महामारीका कारण देशमा लकडाउन गरिएपछिको यो पाँचौं सम्बोधन हो । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दा देशबासीलाई राहत महसुस हुनुपर्ने हो ।

लामो समयदेखिको लकडाउनले व्यापार-व्यवसाय ठप्प छन् । अर्थतन्त्र चलायमान हुन सकेको छैन । खाडी मुलुकमा अलपत्र नेपालीहरुले स्वदेश फर्किनका लागि तेब्बर भाडा तिर्दा पनि घर फर्किन पाइरहेका छैनन् भने कतिपय पराई भूमिमा एक छाक खानसमेत समस्या भएको अवस्था छ । स्वदेशमै पनि दैनिक ज्याला मजदुरी गर्ने नागरिकले एक छाक पेटभरी खाना पाएका छैनन् ।

अब कोही भोको बस्‍नुपर्ने छैन भन्‍ने प्रधानमन्त्रीको नछुट्‍ने वाक्यांश आजको सम्बोधनमा छैन । किनकी उनी आफ्नो त्यो वाचामा असफल भइसकेपछि आजको सम्बोधनमा त्यो वाक्यांश छुटेको छ । भोकमरीकै कारण मोरङका अशोक दर्जीले मृत्यु रोजे, पाँचौं दिनसम्मको भोक सहन गर्न अन्‍न खोज्‍न निस्किएका सप्तरीका मलर सदाको बाटोमै मृत्यु भयो । भोक टार्न ससुराली पुगे र ससुरालीमा पनि भोकमरी सुरु भएपछि पर्साका सतन माझीले आत्महत्या गरे । धादिङका सुर्यबहादुर तामाङले भारी बोक्न नपाएर भोकै भए र एकदिन किर्तिपुर सडकमा मृत भेटिए भने बर्दियाकी पाँच महिनाकी गर्भवती निलम गेडियाले भोक टार्न नसकेपछि आत्महत्या गरिन् ।

विदेशमा रोजगारी गुमाएर भोकमरी सुरु भएपछि आत्महत्या गर्न बाध्य नेपाली र अन्यले त्यसो गर्नबाट जोगाउनका लागि प्रधानमन्त्रीको विशेष सम्बोधनले सम्बोधन गरेको खोई ? प्रधानमन्त्रीको सम्बोधनमा यीनका परिवारलाई राहत अथवा सान्त्वना दिनका कुनै एक वाक्य खर्च गरिएको छैन । सिन्धुपाल्चोकसहित देशभरका विभिन्‍न जिल्लामा गएको प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरुका लागि ढाडससमेत प्रधानमन्त्रीको सम्बोधनमा छैन ।

उनले भनेका छैन्, ” प्राकृतिक विपत्तीबाट केही बस्तीहरु सखाप भएका छन्, कैयौं परिवार घरबारबिहीन हुन पुगेका छन् । महामारीबाट ज्यान गुमाउने जत्तिकै संख्यामा यी प्राकृतिक विपत्तिमा पनि नेपालीहरुको ज्यान गएको छ । यस विपत्तिबाट जीवन गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

राज्य प्रणालीमा खाल्डा–खुल्डी भए सम्याउन सकिन्छ : प्रधानमन्त्री (पूर्णपाठसहित)

के देशको अभिभावक मानिएका प्रधानमन्त्रिको जिम्मेवारी यतिमै सकिन्छ र ? स्वास्थ्य लाभको कामना र मृतकका परिवारलाई समवेदनामात्रै अपेक्षा हुँदैन । देशको प्रधानमन्त्रीले उनीहरुको घाउमा मलम लगाउन सक्नुपर्छ । कति बाबालिका टुहुरा भएका छन्, कतिका सिउँदो पुछिएको छ भने कतिलाई पत्‍नवियोगमा परेका छन् । उनीहरुलाई सरकारले राहत अथवा भविष्‍यको सुनिश्‍चितता गर्नुपर्ने हो । तर, प्रधानमन्त्रीको आजको विशेष सम्बोधनमा त्यस्तो कुनै कुरा उल्लेख गरिएको छैन ।

न त ६ महिनादेखि सवारीसाधन ग्यारेजमा थन्किएपछि बेरोजगार बनेका युवाहरुलाई सम्बोधन हुने कुनै शब्द नै छ प्रधानमन्त्रीको सम्बोधनमा । सार्वजनिक सवारीसाधनको क्षेत्रमा काम गर्ने देशभरका हजरौं युवाहरु अहिले बेरोजगार भएका छन् । उनीहरु अहिले फुर्सदको समयमा नराम्रो गतिविधिमा संलग्‍न हुने जोखिम बढ्दो छ । उनीहरुलाई सम्बोधन गर्ने सरकारले के गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री केही बोलेनन् ।

प्रधानमन्त्रीले कोभिड–१९ को महामारी रोकथामको लागि पहिलो पटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन नसकेको उल्लेख गरेका छन् । सामान्य हुन नसकेको भन्‍ने त जगजाहेर नै छ । प्रधानमन्त्रीले सम्बोधनमा भनिरहनुपर्ने हो र ? यो त दैनिक प्रेस ब्रिफिङबाट प्राप्त हुने संक्रमितको तथ्यांकबाट पनि प्रष्ट हुन्छ । सरकारले गरेका कामहरुको बेलिविस्तार लगाउन प्रधानमन्त्रीले विशेष समय लिएर देशबासीका नाममा सम्बोधन गर्न आवश्यक छैन । सरकारले गरेका राम्रा कामहरुलाई सञ्‍चारमाध्यमहरुले विशेष स्थान दिएका छन् र दिन्छन् । जसबाट जनता सुसूचित भइरहेका छन् ।

प्रधानमन्त्रीले आजको सम्बोधनमा आवास र पर्याप्त भौतिक पूर्वाधार नहुँदा असुरक्षामा रहेका सुरक्षाकर्मीलाई सम्बोधन गर्नसक्नुपर्थ्यो । देशभरका विभिन्‍न हिरासत र जेलहरुमा मानिसहरु मरिरहेका छन् । जेलमा संक्रमणको जोखिम उच्‍च भएको छ । वृद्ध बाआमाहरु घरमा कुँजिएका छन् । बालबालिकाले विद्यालय जान पाएका छैनन् । कोरोना त्रासका कारण स्वदेश फर्किएकाहरु भोक टार्न फेरि विदेशिँदै छन् । यी कुराहरुलाई प्रधानमन्त्रीले सम्बोधन गर्न सकेनन् ।

प्रधानमन्त्रीको आजको सम्बोधनको सार कुण्ठा व्यक्त गर्ने र सरकारले गरेका कामहरुको बेलिविस्तार लगाउने बाहेक केही हुन सकेनन् । उनले भनेका छन्, “पछिल्लो समय सरकारको आलोचना गर्ने प्रवृत्ति बढेको छ । लोकतन्त्रको परिपाटी यस्तो हुँदैन ।” लोकतन्त्रमा सरकारले गरेका गलत गतिविधिहरुको आलोचना हुन्छ । तर, सरकारले ती आलोचनाहरुबाट पाठ सिकेर राम्रा काममा लाग्‍नुपर्छ ।

वामदेवहरुलाई राष्ट्रिय सभा पठाउने र कुलमानहरुको बहिर्गमन रुचाउने प्रधानमन्त्रीले देशबासीको नाममा आफ्नो कुण्ठा व्यक्त गर्न समय खर्चिएका छन् । यो वास्तवमा जनतालाई महसुस नै नहुने गरी गरिएको सम्बोधनको अर्थ के छ ?

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend