६ जेष्ठ २०७९, शुक्रबार

अपडेट छैन मन्त्रिपरिषद्‌ कार्यालयकै वेबसाइट, नारामा मात्र डिजिटल नेपाल

लेखाजोखा न्यूज

२ साउन २०७७, शुक्रबार १०:१७

काठमाडौं । समृद्ध नेपाल, सुखी नेपाली नारा बोकेको वर्तमान सरकारले डिजिटल नेपाल निर्माण गर्ने अभियानसमेत थालेको छ । उक्त अभियानमा विभिन्‍न योजनाहरु बनाइएका छन् । सरकारी कार्यालयका वेबसाइटहरु चुस्तदुरुस्त अपडेट गर्ने संयन्त्र तयार गरिएको छ । त्यसका लागि सरकारी राज्यकोषबाट करोडौं खर्च हुने गरेको छ ।

तर, सरकारी कार्यालयको वेबसाइट पूर्ण अपडेट राख्‍नुपर्छ भनेर निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै वेबसाइटसमेत अपडेट भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको वेबसाइटमा मन्त्रिपरिषद् बैठकले पछिल्लो समय गरेको निर्णयहरु अपडेट गरिएका छैनन् ।

वेबसाइटमा गत माघपछि सम्पन्‍न मन्त्रिपरिषद्का कुनै पनि बैठकका निर्णयहरु अपलोड गरिएका छ्रैनन् । वेबसाइटमा अन्तिम पटक गत चैत ७ अर्थात १६ मार्च २०२० मा ‘२०७६ साल माघ महिनाको मन्त्रिपरिष् बैठकका निर्णयहरु’ शीर्षक राखेर अपडेट गरिएको छ ।

उक्त शीर्षकमा गत माघ ६ गते, १३ गते, २० गते, माघ २७ गते र २८ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू अपलोड गर्न वेबसाइट अपडेट गरिएको देखिन्छ । सोही दिन वेबसाइटमा गत पुस महिनामा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु अपलोड गरिएको छ ।

उक्त दिन गएको पुस ७, १४, २१ र २८ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु बेवसाइटमा राखिएका छन् । मन्त्रिपरिषद्को कार्यालयले गत फागुन १ गते अर्थात १३ मार्च २०२० मा मंसिर महिनामा बसेका र त्यसको अघिल्लो दिन कार्तिक महिनामा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु आमनागरिकको पहुँचमा पुर्याउन वेबसाइटमा अपलोड गरेको देखिएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले गत पुस २० गते अर्थात ५ जनवरी २०२० मा एकै पटक साउन, भदौ र असोज महिनामा सम्पन्न मन्त्रिपरिषद् बैठकका निर्णयहरु एउटै फाइल बनाएर वेबसाइटमा राखेको देखिएको छ ।

त्यस्तै गत वर्षको असार महिनामा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु पनि भदौ महिनाको ६ गतेमात्रै इन्टरनेटका माध्यमबाट सर्वसाधारणको पहुँचमा पुग्ने गरी वेबसाइटमार्फत् सार्वजनिक गरेको पाइएको छ ।

भदौ ६ गतेकै दिन मन्त्रिपरिषद्को कार्यालयले गत वर्षको वैशाख र जेठ महिनामा सम्पन्‍न मन्त्रिपरिषद् बैठकका निर्णयहरु अपलोड गरेको वेबसाइटमा देखिएको छ । मन्त्रिपरिषद्को कार्यालयले गत भदौ २ गतेका दिन २०७५ पुस देखि चैत महिनासम्म विभिन्न मितिमा सम्पन्न मन्त्रिपरिषद् बैठकका निर्णयहरु अपलोड गरेको पाइएको छ ।

भदौ २ गते उक्त कार्यालयले चैत महिनाका निर्णयहरु अलग्गै र फागुन, माघ तथा पुस महिनामा मन्त्रिपरिषद्ले गरेका निर्णयहरुको एउटै फाइल बनाएर वेबसाइटमा राखेको छ ।

सरकारका अन्य संयन्त्रलाई निर्देशन दिने, मुलुकको बारेमा निर्णय प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको वेबसाइटको त यस्तो हविगत छ भने प्रदेशका वेबसाइटमा त प्रदेश प्रमुखहरुको नाम समेत फेरिएको छैन । अन्य थुप्रै सरकारी वेबसाइटहरु पनि अपडेट छैनन् ।

डिजिटल नेपाल नाममात्र !

डिजिटल नेपाल अभियानलाई मुर्तरुप दिन नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयले तयार गरेको डिजिटल नेपाल फ्रेमवर्क २०७६ तयार गरेको छ । उक्त फ्रेमवर्क अन्तर्तगको बुँदा नम्बर ४.६ मा संघ, प्रदेश र स्थानीय तहमा डिजिटल नेपाल फ्रेमवर्कले पहिचान गरेका डिजिटल पहल तथा क्रियाकलापहरु सरकारका तीनवटै तह : संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय र सामञ्‍जस्यता गर्दै कार्यान्वयन गर्न आवश्यक छ ।

यसका लागि डिजिटल नेपालले प्रणालीगत आबद्धता, आपसी सञ्‍चालन र तथ्यांक प्रविष्टिमा सहजता हासिल गर्दै प्रणालीको सार्वभौमिकता संरक्षण हुन आवश्यक छ । तदनुरुप डिजिटल नेपाल कार्यक्रम कार्यान्वयनमा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तह एवं निजी तथा गैरसरकारी क्षेत्रको सक्रिय सहभागिता सुनिश्‍चि गर्नुपर्ने देखिन्छ ।

त्यसैगरी डिजिटल नेपाल फ्रेमवर्क कार्ययोजना अन्तर्गत ९ नम्बरमा कागजरहित सरकारको अवधारणालाई साकार रुप दिने १२ नम्बरमा प्रादेशिक डाटा केन्द्रहरुको स्थापना गर्नेलगायतका ८० वटा बुँदा समेटिएका छन् । तर, यो फ्रेमवर्कको पालना अधिकांश पनि सरकारी संयन्त्रले गरेका छैनन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend