६ जेष्ठ २०७९, शुक्रबार

साइकी बम्बई आग लागि गै….

लेखाजोखा न्यूज

२ साउन २०७७, शुक्रबार ८:३७

डडेलधुरा । विवाह भएको दुई महिनामै देश हिँडेपछि चार वर्षसम्म घर नफर्केका लोग्ने भेट्न मैना गत असारमा आफैं बम्बई पुगिन् । मधुमास मनाउन नपाउँदै बिछोडिएकी मैनाले सयौं पटक माथिको गीत गुनगुनाएर लोग्नेलाई सम्झिदै बम्बई (भारतीय सहर मुम्बई) लाई धिक्कारिन होलिन् ।

मानौं उनलाई लोग्नेसँग बिछोड गराउने त्यही बम्बई हो । “तर, यस पटक भने साच्चै साईकी बम्बईमा आग लागि गै,” डडेल्धुराको भागेश्वर– २ कि मैनाले भनिन् । ११ वर्षदेखि बम्बईमा रोजगारी गरिरहेका उनका लोग्ने वीरभानमात्र होइन सयौं मान्छे रोजगारी गुमाएर घर फर्किएका छन् ।

कोरोना महामारीले आक्रान्त भएको बम्बईको धारावीमा बस्थे उनका श्रीमान वीरभान । नजिकै रहेको मराठा केमिकल्स कम्पनीमा स्थाई जगिर गुमाएर उनी ११ दिनको कठिन यात्रा गरेर घर फर्किएका छन् ।

मैनामात्र होइन धेरै मैनाहरुका साई (पति) कि बम्बईमा यस पटक आगो लागेको छ । वर्षौंदेखि गाउँ छोडेर बम्बईमा रहेका धेरै नेपाली घर फर्किएका छन । संकटको घडीमा गाउँ सम्झेर फर्कने अधिकांश रोजगारी गुमाएर फर्किएका छन् ।

बम्बईसँग सुदूरको तीन पुस्तादेखिको साइनो छ । त्यसैले यस क्षेत्रका गीत–संगित र प्रेम कथामा बम्बईको आफ्नै खाले स्थान छ । कोरोना महामारीको संक्रमणले आक्रान्त भएपछि बम्बईबाट गाउँ फर्कनेको लर्को लागेको छ ।

सबैका आफ्ना–आफ्ना कथा–ब्यथा छन् तर यत्रो संकटका समयमा पनि देशभित्र आफ्नो कोही नभएको अनुभूतिले धेरैको मन कुंँडिएको छ । बम्बई छुट्नुभन्दा देशभित्र पुगेपछिको तितो अनूभूतिले धेरैलाइ रुवाएको छ । भागेश्वर–३ का नारायाण सेरालाले भने, “संकटले देश भित्रको यथार्थता चिनायो ।”

वीरभानसँगै एउटै कम्पनीमा काम गर्ने २३ जना जागिर गुमाएर स्वदेश फर्किएका छन् । “जागिर गुमाएर घर फर्किने म एक्लो होइन । मेरै कम्पनीमा काम गर्ने २३ जना र सँगै बस्ने तीन सय ७२ अरु पनि रोजगारी गुमाएर घर फर्किएका छन्,” उनले भने ।

महाराष्ट्र सरकारले रेडजोन घोषणा गरेको धारावी र गोरेगाउँ क्षेत्रमामात्रै ४२ सय नेपालीको सूची बनेको थियो । “यो सूची कम्पनी र होटेलमा काम गर्ने नेपालीको मात्र हो । यसबाहेक पनि धेरै नेपाली त्यो क्षेत्रमा थिए,” वीरभान भन्छन, “हामी मात्र होइनौं अधिकांश नेपालीले जागिर गुमाएका छन् । कोरोना महामारी सुरु भएयता हजारौं नेपालीले यसरी रोजगारी गुमाइसकेका छन् ।”

तीन–चार पुस्ता पालेको बम्बई एउटा महामारीका कारण सबैका लागि बिरानो भयो । “तनको कोरोना ठीक हुन सक्छ तर मुलुक छिरेपछि मनमा लागेको कोरोना कहिले निको हुँदैन हजुर,” आफ्नो पीडा सुनाउँदै वीरभान भन्छन, “देशभित्र यस्तो बेथिती र अराजकता होला भन्ने अनुमान भएको भए मृत्यु पर्खेर पनि बम्बई छोड्ने थिएन । एक हप्तासम्म सीमा पारी अलपत्र परेको दुःखभन्दा बढी पिडा देश भित्र छिरेपछि भयो ।”

बम्बईबाट उनको समूहका ४२ जनाको कोरोना परीक्षण भयो । धारावी अस्पतालको मेडिकल प्रमाण पत्र हेरेर मात्र बसवाला ती ४२ जनालाई सीमासम्म पु¥याउन सहमत भयो । वीरभानले भने, “गौरीफन्टा नजिकैको पलियासम्म एक जनाको सात हजारका दरले भाडा ति¥यौं । बसमा रहेका २२ जनासँग भाडा पनि थिएन । हाम्रो समूहमा डोटी, बाजुरा र बझाङका साथीहरु पनि थिए । सबैले पैसा उठाएर २२ जनाको भाडा ति¥यौं ।” पाँच दिन पलिया रेलवे स्टेशन बाहिर अलपत्र बसेपछि सीमासम्म आई पुगेको उनले बताए ।

बम्बईबाट सात दिने बसयात्राको अवधिमा उनीहरुलाई ठाउँ–ठाउँमा मनकारीहरुले खाना, पानी दिए । वीरभानसँगै स्वदेश फर्किएका अर्का युवा धनवीर मगरले भने, “विभिन्न प्रहरी चौकीका प्रहरीले समेत खाना–पानी दिए । तर, देशभित्र पसेको दुई दिनपछि मात्र खान पाइयो त्यो पनि किरा परेको, खानै नसकिने खाना ।”

स्थानीय तहले उद्धार गरेर गाउँसम्म पु¥याउने नाममा धनगढीवाट डडेल्धुराको भागेश्वरसम्मको १५ सयदेखि २५ सयसम्म भाडा असुल गरेको उनले गुनासो गरे । “देश पुगे बाँचिन्छ कि भन्ने लागेको थियो,” धनवीरले भने, “तर, बम्बई आफ्नो कोठामा सुरक्षित रहेका हामी जस्ताका लागि देश फर्कनु नै दुर्भाग्य होला जस्तो छ ।”

हुन पनि हो, कोरोना महामारीले धेरैका लागि बम्बई बिरानो भएको छ । लालावाला हुर्काउने र जहान परिवारका लागि दुई छाकको जोहो गर्ने बम्बईबाट उनीहरुले बिमुख हुनु परेको छ । संकटमा घर सम्झेर फर्कनेहरु धेरै निराश छन्, देश भित्रको बेथिती देखेर । उनले भने, ‘साइकी बम्बई आग लागे पनि खरानी सफा गर्ने काम त पाइन्थ्यो, देश भित्र त त्यो पनि सम्भव छैन ।”

सुदूरमात्र होइन नेपालको कुनै यस्तो जिल्ला बाँकी छैन जहाँबाट रोजगारीका लागि बम्बई नगएका होउन् । परम्परागत रुपमा बम्बई जाने चलन भएका धेरै ठाउँ छन् । बम्बईको नरिमन प्वाइण्टमा काम गर्ने भागेश्वर– १ का अर्का युवक नरबहादुर सार्की भन्छन्, “यताभन्दा हामी उतै सुरक्षित थियौं जस्तो लाग्छ ।” घर छोडेर बम्बई जाँदाका दिनहरु सम्झिदा जुन खिन्नता हुन्थ्यो आज संकटका बेला बम्बई छोडेर घर पुग्दा भएको अनुभूति उनले सुनाए ।

‘पैंया गुडन लाग्या बम्बई जान्या रेलगाडीका, आब छुटन लाग्या पहाडका डाँडाकाँडा……’ वीरभानले धेरै पटक बम्बई जाँदा घर सम्झेर यो गीत गाउँदै रेलगाडीमा आँशु झारेको सम्झना गरे । तर अब बम्बई छुट्यो बम्बईसँगै छुट्यो धेरैको जीवन जीउने आशा र भरोसा पनि ।

स्थानीय तहमा देखिएको अराजकता, भ्रष्टाचार र आफ्नालाई मात्र पोस्ने प्रवृत्तिले रोजगारीको आशा छैन । “खेतीपातीले खान पुग्दैन गुजारा कसरी गर्ने ?,” वीरभानले पीडा पोखे, “बम्बई छँदा देश सम्झेर रुने गथ्र्यौं । तर, घर पुगेपछि बम्बई सम्झेर रुनुपर्ने अवस्था आएको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend