सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानीट्यांकी नजिकै गोली चल्दा दुईजना घाइते भएका छन् ।
बुधबार राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको हो । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
भारतीय क्षेत्रबाट बीआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए ।
हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताए ।