६ जेष्ठ २०७९, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक : प्रचण्ड पक्षको जोड राजीनामा, ओली पक्षले प्रतिवाद गर्ने

लेखाजोखा न्यूज

२ साउन २०७७, शुक्रबार ७:५४

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।

पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगित हुने गरेको थियो ।

आजको बैठकअघि पनि नेताहरुबीच सहमति जुट्नुको साटो विवाद थप चर्किँदै गएपछि बैठक हुने नहुने भन्‍ने अन्योल कायमै भएपनि दुबै पक्षका नेताहरु भने आफ्नो मुद्दालाई प्राथिकता दिने मुडमा रहेका छन् ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग छ । तर ओलीले उक्त माग लत्याउँदै सकेको गर्न चेतावनी दिइरहेका छन् ।

बिहीबार भएको छलफलमा दाहाल र नेपालले राजीनामा दिन आग्रह गर्दा ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए ।

आजको बैठकमा पनि प्रचण्ड-नेपाल पक्षले ओलीको राजीनामाको विषयलाई उठाउने छन् भने ओली पक्षले त्यसको प्रतिवाद गर्ने बिहीबार बालुवाटार र खुमलटार बैठकमा छुट्टाछुट्टै सहमति भएको छ ।

उता बालुवाटारमा भएको भेलामा ओली पक्षका नेताहरुले दुवै पदबाट राजीनामा नदिने अडानलाई यथावत राख्दै बहुमतबाट हुने निर्णयको प्रतिवाद गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए ।

नेकपा स्थायी कमिटी ४५ सदस्यीय छ भने केन्द्रीय कमिटीमा  चार सय ४१ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend