६ चैत्र २०८०, मंगलबार

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

लेखाजोखा न्यूज

२ कार्तिक २०७८, मंगलबार ७:३१
himpat

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् । अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।

खुम्बु क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेसहितको क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महसुस भएको स्थानीयवासी लामाकाजी शेर्पाले बताए । उहाँका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायतका क्षेत्रमा आज बिहान करिब १० बजेदेखि नै हिमपात भइरहेकोे छ ।

निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताए । अहिले खुम्बु क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताइएको छ । उनीहरुले हात मुखसमेत धुन नसकिरहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

सदरमुकाम सल्लेरीसहित जिल्लाको तल्लो क्षेत्रमा समेत आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । वर्षाले यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । दसैँको बेला टण्टलापुर घाम लागेको भए पनि टीका सकिएको केही दिनमै भारी वर्षा हुँदा सडक हिलाम्मे छ भने बजार क्षेत्र सुनसान देखिएको छ । साप्ताहिक हाट नेले बजारसमेत सुनसान हुँदा व्यापारी रित्तो हात फर्केको कपडा व्यापारी बिकाउ दासले बताए ।

सगरमाथा क्षेत्रमा चहलपहल बढ्यो

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सगरमाथा क्षेत्रमा चहलपहल बढेको छ । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण सुनसान बनेको खुम्बु क्षेत्रमा अहिले भारीतय चलचित्र ‘उचाइ’ छायाङ्कन गर्ने कलाकर्मीदेखि अन्य आन्तरिक एवं बाह्य पर्यटकहरुको उपस्थिति रहेको छ ।

शरद् ऋतुको असोज महिनामा मात्रै आन्तरिकसहित दुई हजार पर्यटक खुम्बु प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जको जोरसल्ले चेकपोष्टको तथ्याङकअनुसार सार्क देशका ४५२ जनासहित एक हजार ३२३ जना विदेशी लुक्लाबाट उकालो लागेका छन् । यस्तै पर्यटकका सहयोगीसहित ७७८ जना आन्तरिक पर्यटकसमेत खुम्बु क्षेत्र पुगेको बताइएको छ ।

अघिल्लो वर्षको असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए । अघिल्लो वर्ष कोरोनाका कारण ठप्प जस्तै बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि बिस्तारै लयमा फर्किन थालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिए ।

एकै महिनामा ३३ लाख राजस्व सङ्कलन

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा रु ३३ लाख ६८ हजार ८०० राजस्व सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायका अनुसार तेस्रो देशका पर्यटकबाट रु २६ लाख १३ हजार, सार्क देशका पर्यटकबाट रु छ लाख ७८ हजार र नेपालीबाट रु ७७ हजार ८०० राजस्व सङ्कलन भएको छ ।

तेस्रो देशका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार, सार्क देशका पर्यटकबाट रु एक हजार ५०० र नेपालीबाट रु १०० प्रवेश शुल्क लिने गरेको निकुञ्जले जनाएको छ । खुम्बु आउने पर्यटकको सहजताका लागि काठमाडौँको भृकुटीमण्डपमै पनि राजस्व तिर्न सक्ने व्यवस्था गरिएको निकुञ्जले जनाएको छ । असोज महिनामा भृकुटीमण्डपबाट ४४ जना विदेशी पर्यटकले प्रवेश शुल्क तिरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend