६ चैत्र २०८०, मंगलबार

अविरल वर्षाले सुदूरपश्चिमकाे जनजीवन अस्तव्यस्त

लेखाजोखा न्यूज

२ कार्तिक २०७८, मंगलबार ६:५३

कंचनपुर । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको छ ।

यस्तै वर्षाका कारण डोटी जिल्ला सायल गाउँपालिका–६ मेल्लेक गाउँका वीरबहादुर कुन्जेडाको घर भत्किँदा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डडेलधुराको अमरगढी नगरपालिका–१ मा पहिरो खस्दा स्थानीयवासी भीम रावलको पक्की घरमा पूर्णरूपमा क्षति पुगेको छ । उक्त घटनामा देवकी रावल र ग्रिस रावल घाइते हुनुभएको छ । सोही घरको गोठमा पशु चौपाया, खाद्यान्न र भाँडावर्तन, लत्ताकपडा पुरिएर क्षति पुगेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका पदमबहादुर शाहीको गोठमा परेको चट्याङका कारण पशु चौपाया मरेका छन् ।

डोटीको सायल गापामा भएको घटनामा विन्दा कुन्जेडा, वीरबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा घाइते हुनुभएको छ । कैलालीको खुटिया नदीमा आएको बाढीमा गोदावरी नगरपालिका–८ का गणेश आउजी नदीमा बेपत्ता भएका छन् । खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

खुटिया नदीमा बालुवा सङ्कलन गर्न गएको समयमा आएको बाढीमा फसेका स्थानीयवासी रेबु थापाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । डोटीको दीपायल सिलगढी नगरपालिका–६ का हेमराजा बोहराको घर र गोठमा गएको पहिराले पशु चौपाया पुरिएका छन् ।

बझाङ जिल्ला बित्थडचिर गाउँपालिका–८ मा कलङ्गा नदीको बहाव बढ्दा जोखिममा परेको नजिकैको अस्थायी प्रहरी पोष्ट सुरक्षित स्थानमा सारिएको छ । हिमाली जिल्ला दार्चुलाको तिङ्कर क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण खानेपानीको पाइप र धारामा पानी जमेपछि पानी आउन बन्द भएको छ ।

यता कैलालीको मोहन्याल गाउँपालिका–४ को ठूलीगाड नदीमा सोमबार साँझदेखि फसेका स्थानीयवासी ५० वर्षीय लोकबहादुर बुढामगर र उहाँकी पत्नी ४७ वर्षीया पिर्मादेवी मगरको मङ्गलबार दिउँसोसम्म उद्धार हुन सकेको छैन । उद्धारका लागि आएको हेलिकप्टर खराब मौसमका कारण घटनास्थलमा पुग्न नसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिका चेतन खड्काले जानकारी दिए ।

यता कैलालीको कर्णाली नदीमा आज दिउँसोदेखि पानीको बहाव खतरा तहभन्दामाथि पुगेपछि सम्भावित क्षतिलाई मध्यनजर गरी नदी तटीय क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

कर्णालीमा खतराको तह १० दशमलव आठ मिटर मानिएकामा अपराह्न १ः३० बजेसम्म १२ दशमलव शून्य पाँच मिटर पुगेको छ । यो नदीमा पानीको बहाव १० मिटर पुगेपछि चेतावनी तह मानिन्छ ।

कर्णाली नदीको बाढीले टीकापुर नगरपालिका–५ को शाहीपुरको तटबन्धन भत्काएपछि बाढी बस्तीमा पुगेको छ । वडा नं २ र वडा नं ८ को सत्तीपुल आसपासको बस्तीसमेत जोखिममा परेको छ । खड्काले भने, “शाहीपुरको तटबन्धन भत्किएर कर्णालीको बाढी बस्तीमा पुगिसक्यो, सेना र प्रहरीको टोलीबाट रोक्ने छेक्ने काम भइरहेको छ ।”

तटबन्धन भत्किएकको ठाउँबाट भित्र पसेको बाढीले टीकापुर नगरपालिका–५, ६, ७, ८ को बस्तीमा समेत धनमालको क्षति पुग्ने जोखिम देखिएको छ । महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ । सो नदीमा दिउँसोसम्म चार लाख ६१ हजार ८८७ क्युसेक पानीको बहाव पुगेको छ । साढे चार लाख क्युसेक बहाव पुगेमा खतराभन्दा माथि मानिन्छ ।

उक्त नदीको बाढीका कारण भीमदत्त नगरपालिकाको ओदाली गाउँमा १५० घर डुबानमा परेपछि प्रहरीको उद्धार टोली परिचालन गरिएको छ । यस्तै दोधारा–चाँदनी नगरपालिका–१० को शान्ति टोल, बैदीफाँट, निशानी टोलमा समेत गरी ७० घर डुबानमा परेपछि खटिएको प्रहरी टोली उद्धार कार्यमा जुटेको छ ।

आइतबार रातिदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेशको धान उत्पादन हुने मुख्य क्षेत्र कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलको धानबाली नष्ट गरेको छ । बाली काटेर भित्र्याउने समयमा अचानक भएको वर्षाले काटेर खेतमै सुकाइएको धानबाली बगाएपछि नष्ट भएको हो । दुवै जिल्लाको अधिकांश क्षेत्रको धानबाली डुबानमा परी क्षति पुगेको छ ।

मोहना नदीको बहाव मापन गर्न खटिनुभएका मानबहादुर चौधरीले भने, “तीन दिनअघि मात्रै काटेर खेतमै सुकाइराखिएको नदी आसपासको खेतकोे पूरै बाली मोहनाको बाढीमा बगेर क्षति पुगेको छ ।”

दुवै जिल्लाको होचो भागको खेतमा काटेर सुकाइएको धान खेतमा तीन÷चार फिटसम्म पानी जमेको छ । वर्षाका कारण भर्खरै काटेर भित्र्याउन लागिएको धानबाली भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । उनले भने, “काटेर सुकाइएको पूरै धानबालीमा क्षति भएको छ ।” वर्षाबाट भएको जनधनको क्षतिको थप विवरण आउन भने समय लाग्ने बताइएको छ ।

भारी वर्षाका कारण धनगढी डडेलधुरा राजमार्गको भासुभिर, सल्लाघारी, जयपृथ्वी राजमार्ग, अछामको चौरपाटी क्षेत्रलगायतका सडकखण्डका ठाउँठाउँमा पहिरो गएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।

बझाङको बित्थड गाउँपालिका–५ का धनबहादुर बोहरा, जगदीश बोहरा र मानसिंह बोहराको घर माथिबाट आएको पहिराका कारण उहाँहरुको घरमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend