२ कार्तिक २०७८, मंगलबार

साफ च्याम्पियनसिपको फाइनल खेल्ने आशमा नेपाल, बंगलादेशविरुद्धको खेल सुरु

लेखाजोखा न्यूज

२७ असोज २०७८, बुधबार ५:१३

काठमाडौं । १३ औं साफ च्याम्पियनसिप अन्र्तगत लिग चरणको अन्तिम खेलमा नेपाल अहिले बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको छ । पहिलो पटक फाइनलमा पुग्ने आशालाई जीवित राख्न नेपालले बंगलादेशसंग बराबरी गरे पुग्ने छ ।

माल्द्धिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार पौने पाँच बजे नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ ।

सुरुवातमा लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग हारेको थियो । नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ ।

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।

बंगलादेशसँगको खेलमा हारेमा नेपालको प्रतियोगिताको यात्रा टुंगिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धाको फाइनलमा पुग्नेछ । जित्यो भने नेपाल ९ अंकका साथ फाइनलमा स्थान बनाउने छ ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन । हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन।

यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अहिले नेपाल त्यो लक्ष्य नजिक रहेको छ ।

यसअघिका १२ संस्करणसम्म नेपालको ठूलो सफलता भनेको सन १९९३ मा भएको पहिलो संस्करणमा तेस्रो स्थान हात पार्नु हो । त्यसपछि नेपाल पाँच पटक सेमिफाइनलमा पुगेर आफ्नो यात्रा टुंग्याएको थियो ।

यसपटक बंगलादेशविरुद्धको खेलमा बराबरी खेलेपनि पहिलो पटक फाइनलमा पुग्ने छ । जस्को कारण नेपाली टिमको लागि यो खेल गर या मरको अवस्थामा छ । नेपाललाई फाइनल पुग्नका मात्र एक अंक हासिल गरे पुग्नेछ ।

बंगलादेशसँग नेपालले अहिलेसम्म २५ पटक भिडेको छ । जसमा आठ खेलमा नेपालले जितेको छ भने १४ खेल गुमाएको छ । पाँच खेल बराबरी भएका छन भने नेपालले बंगलादेशविरुद्ध २० गोल गर्दा ३३ गोल खाएको छ ।

यी दुई टोलीले खेलेको पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ । यस्तै एक खेल बराबरीमा टुंगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend