काठमाडौं । प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले थुनामा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै सांसद चौधरीविरुद्ध लागेको मुद्दा फिर्ता लिएर यथाशीघ्र रिहाइ गर्न माग गरेका हुन् ।
जसपाले जनआन्दोलन, सशस्त्र युद्ध , मधेस आन्दोलन र थरूहट आन्दोलनको परिणाम संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि मधेस र थरूहट आन्दोलनमा संलग्न नेता–कार्यकर्ताको सम्पत्ति रोक्का गर्ने, मुद्दा चलाउने, थुनामा राख्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ ।
कैलालीको टीकपुरमा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले २०७६ फागनुमा जन्मकैदको फैसला सुनाएको थियो ।
हत्याकाण्डपछि फरार भएका चौधरी भारतमै रहेर कैलाली–१ बाट प्रतिनिधिसभाको चुनाव लडेका थिए । उनी प्रतिनिधिसभामा २० हजार नौ सय ३५ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए ।
कारागारमै रहेका बेला सांसद चौधरीलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका थिए । सपथ लगत्तै उनलाई फेरि कारागार पठाइएको थियो ।