६ जेष्ठ २०७९, शुक्रबार

व्यापार-व्यवसाय खुलाउन पहल गरिदिन देउवालाई व्यवसायीको आग्रह

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार ५:१२

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आवश्यक सुरक्षा सतर्कता अपनाएर उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाका लागि सरकारसँग पहल गरिदिन आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवालाई आइतबार आठ बुँदे ज्ञापनपत्र बुझाउँदै महासंघले कोरोना भाइरसबाट जोगिने आवश्यक सुरक्षा सतर्कता अपनाएर उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाका लागि सरकारसँग पहल गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष नरेश कटुवालको नेतृत्वमा बूढानीलकण्ठ पुगेर बुझाइएको ज्ञापनपत्रमा लकडाउन तथा निषेधाज्ञा अवधिभरको बैक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने, उक्त अवधिको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने पनि व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

ज्ञापन पत्र

सम्माननीय शेरबहादुर देउवा ज्यू
पूर्व प्रधानमन्त्री तथा सभापति
नेपाली कांग्रेस

विषय : माग सम्बोधनका लागि पहल गरिदिनु हुन ।

महोदय, प्रस्तुत विषयमा यो अनुरोध गर्न चाहन्छौं कि विगत ६ महिनादेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण गरिएको बन्दाबन्दीका कारण उद्योगी व्यवसायीहरु निकै ठूलो समस्यामा परेका छन् ।

व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंकको साँवा तथा ब्याज, घरभाडा, श्रमिकको पारिश्रमिक लगायत भुक्तानी गर्नसमेत नसकिएको अवस्था छ । अर्कोतर्फ लामो समयदेखि नेपाली आयातकर्ताहरुको मालसान केरुङ नाकामा रोकिएका छन् । नाकामा रोकिएका माल–सामानहरु त्यहीँ सडेर बिग्रने अवस्थामा पुगेका छन् भने कोरोनाका कारण उद्योग, व्यापार–व्यवसाय चौपट भएका छन् ।

निपाल राष्ट्रिय व्यवसायी महासंघ देशभर छरिएर रहेका उद्योगी–व्यवसायी तथा काठाडौं उपत्याकामा रहेका २२ वटा संघहरु आवद्ध सम्पूर्ण निजी क्षेत्रको आशा र भरोसाको केन्द्र हो । यस महासंघ माताहतका संघहरुले व्यवसायीहरु ठूलो समस्यामा रहेको भन्दै पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

उद्योग, व्यापार–व्यवसाय बाँचे राज्यको आम्दानी हुन्छ । यसर्थ निजी क्षेत्र बचाउनका लागि हामीले तपशिल बमोजिमका मागहरु अघि सारेका छौं । यी मागहरु पूरा गराउनका प्रमुख प्रतिपक्षी दलको सभापतिका हिसाबले आवश्यक पहल गरि दिनहुन हार्दिक अनुरोध गर्दछौं ।

तपशिल :

१. कोरोनाबाट सरक्षित रहन आवश्यक सरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनु पर्ने ।
२. लकडाउन तथा निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने ।
३. सोही अवधिको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने साथै भाडादर वैज्ञानिक हुनुपर्ने ।
४. मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधि थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने ।
५. उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नु पर्ने ।
६. केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल(सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनितिक पहल गर्दै नाकामा आवात–जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था हुनुपर्ने साथै नाकाहरुमा रहेको सिण्डिकेट अन्त्य हुनुपर्ने ।
७. मौद्रिक नीतिमा भएको पुनर्कर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाई व्यापार व्यवसायहरुलाई पनि दिनु पर्ने ।
८. कोरोनका कारण शिथिल भएको उद्योग–व्यवसायहरुको समस्या समाधानका गर्न निजी क्षेत्र र सरकार स्तरको समन्वयन समिति बनाउनुपर्ने ।

नरेश कटुवाल
अध्यक्ष, नेपाल राष्ट्रिय व्यवसायी महासंघ
केन्द्रीय कार्यालय, सुन्धारा काठमाडौं

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend