२ कार्तिक २०७८, मंगलबार

एमालेलाई सभामुखको आग्रह : समिक्षा गरेर आउनुहोस् छलफलका लागि तयार छु

लेखाजोखा न्यूज

२७ असोज २०७८, बुधबार १२:४२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलका लागि आफु तयार रहेको बताएका छन।

सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए । उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन ।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ । अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन,ढिलो चाँडो संवादमा उहाँहरु आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रता पूर्वक नै संसदको गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ । के पक्षरु के विपक्षरु सबैभन्दा बढी भूमिका त सदनको हिसावले सभामुखको नै हो,के गर्नुपर्छ त्यसको लागि म तयार छु।

‘तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरुको सबै दायित्व हुन्छ, अब पनि मलाई के लागेको छ भने दशैँको अवसरमा छौँ । यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो, सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु । तटस्थ, निस्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ, मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समिक्षा गर्ने कुरा हुन्छ । उहाँहरुले पनि समिक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समिक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन । समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसदमा अहिले अलिकति समस्याहरु देखिएको छ, अवरुद्ध भइरहेको छ । १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु,’ उनले थपे ।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद सुचारु रुपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद पुनस्र्थापना गर्न लागि परे जस्तै संसद सुचारु रुपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको बताए । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफुले नरोकेको सहजीकरण नै गरेको बताए ।

उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाए । उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरुले समिक्षा गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend