२ कार्तिक २०७८, मंगलबार

फ्ल्यासब्याकमा दशैँ

लेखाजोखा न्यूज

२७ असोज २०७८, बुधबार १०:५०
राधिका कल्पित

नयाँ क्यालेन्डर आगमन सङ्गै
सबै भन्दा ठूलो गोलो लगाएर राखेको
घटस्थापनाको दिनदेखि
हामी केटाकेटीहरु
जेलबाट छुटेको कैदी जस्तै
लगाम फुकालेर भागेको घोडा जस्तै
दाम्लो छिनालेर भागेको बधुँवा चौपाया जस्तै
उन्मुक्त भई नाघ्दै कान्ला र टारीहरु
कुददै बगर र बारीहरु
छ्याङग खुलेको निलो आकासमा
रङ्गिचङ्गी चङ्गाहरु पछ्याउँदै
पाकेका धानका पहेँलपुर फाँटहरुका बिचमा
`दशैँ आयो खाउँला पिउँला..´ खेल खेल्दै
भित्ते-पात्रो सम्म मात्र आइपुगेको दशैँलाई
घरको पिढिँसम्म भित्र्याउने
हामी केटाकेटीको हुन्थ्यौँ ।

धुवाँले ध्वाँसिएका घरका भित्ताले पनि
सेतो कमेराको कमिज र रातो माटोको जामा पहिरिएर
आँखि-झ्यालहरुले कालिमाटीको कालो गाजल लगाएर
स्वागतकक्षमा श्रृङ्गारिएकी बसेका कन्या जस्तै
स्वागत गर्थे बडादशैँलाई ।

दशैँ, मान्छे र घरलाई मात्र आउथेन
दशैँ, बाटोघाटोलाई पनि आउथ्यो
दशैँ, पँधेरा र चौतारीलाई पनि आउथ्यो
तब त सिस्नुघारीहरु फाँडिएर
फराकिला बन्थे गोरेटाहरु
पहिरा र जङ्घारहरु सम्माइएर
सजिला बन्थे डोरेटाहरु !

दशैँमा मात्र फेर्न पाइने एकजोर नयाँ लुगा
दशैँमा मात्र हेर्न पाइने कोतको बढाईँ र नगरा
दशैँमा मात्रे देख्न पाइने नयाँ बास्नादार नोट
दशैँमा मात्र खान पाइने च्याङ्राको मासु
दशैँमा मात्रै चाख्न पाइने स्याउ, केरा र खुवा
दशैँमा मात्र जान पाइने टाढाको मामाघर

दशैँ
दशैँ एउटा चाड मात्र हुन्थेन
एउटा छुट्टै मौसम हुन्थ्यो
दशैँ एउटा पर्व मात्र हुन्थेन
जीवनको पाटो हुन्थ्यो
सायद दशैँ
एउटा दैनिकी जीवन भित्रको
अर्को जिवन्त जीवन हुन्थ्यो ।

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend