६ जेष्ठ २०७९, शुक्रबार

सत्याग्रही गंगामाया अधिकारीको उचित व्यवस्थापन गर : कांग्रेस

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार १२:४६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्याग्रही गंगामाया अधिकारीको उचित व्यवस्थापन गर्न सरकासँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार ट्विटरमार्फत् सरकारसँग तत्काल सत्याग्रहरत गंगामायाको उचित व्यवस्थापन गर्न माग गरेका हुन् ।

गंगामाया छोराका हत्यारालाई कारबाहीको माग राख्दै लामो समयदेखि वीर अस्पतालमा सत्याग्रहमा बसेकी छन् । सरकारले अस्पताललाई कोभिड अस्पताल बनाएपछि उनको स्वास्थय अवस्था जोखिममा परेको छ ।

वीर अस्पताललाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक व्यवस्था गर्ने वा त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य भएको स्मरण गराउँदै प्रवक्ता शर्माले गंगामायाको व्यवस्थापन नगर्ने र निक्लन पनि नदिने सरकारको कार्य आपत्तिजनक भएको बताएका छन् ।
उनले लेखेका छन्, “गंगामाया अधिकारीको उचित व्यवस्थापन तत्काल गर्न @Pm_Nepal समक्ष माग ! वीरलाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक ब्यवस्था गर्ने या त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य हो । तर व्यवस्थापन नगर्ने र निक्लनपनि नदिने कार्य आपत्तिजनक छ । अमानवीय चित्र सच्याउन प्रमको ध्यानाकर्षण गराउँदछु ।”

यसअघि शनिबार सत्याग्रही गंगामायाको स्वास्थ्य जोखिममा रहेको भन्दै ३० जना नागरिक अगुवाहरुले सरकारलाई संवेदनशील हुन अपिल गरेका थिए ।

छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर गंगामायाले श्रीमान नन्दप्रसाद अधिकारीसँगै २०६८ माघ २२ गतेदेखि आमरण अनशनसहितको सत्याग्रह सुरु गरेकी थिइन् ।

अनशनको तीन सय ३४औं दिनमा नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो । सोही आमरण अनशनको तीन सय ५९ औं दिनमा सरकारले गंगामायाको न्यायको माग पूरा गराउन सहजीकरण गर्ने, जीवनभर स्वास्थ्य उपचार तथा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता गरेपछि आमरण अनशन स्थगत भएको थियो ।

तर, सरकारले माग पूरा नगरेका कारण गंगामाया अधिकारी वीर अस्पतालमै आमरण अनशन बस्दै आएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend