२ कार्तिक २०७८, मंगलबार

कृपया नबोल

लेखाजोखा न्यूज

२ असोज २०७८, शनिबार १:२४

राधिका कल्पित

कृपया नबोल
केही समय बोल्दै नबोल।

बोल्न देउ बतासलाई
बोल्न देउ नदीलाई
बोल्न देऊ बादललाई
बोल्न देऊ बाटोलाई ।

हामी यति बोल्यौँ कि
अरुलाई बोल्ने मौकै दिएनौ
हामी यति बक्यौँ कि
कसैलाई सुन्ने समयनै दिएनौ ।

पुतली पिठ्युँमा आएर बसेको
केही भन्न हुन सक्छ
पंक्षिले पखेटा फडफडाएको
केही सुनाउन हुनसक्छ
हावाले कुम कोट्टाउन आएको
केही सुझाउन हुनसक्छ
इन्द्रेणीले बाटो छेक्न आएको
कानेखुसी गर्न हुनसक्छ
तर हामीले सुनेनौँ किनकि हामी बोल्न ब्यस्त थियौँ ।

तिमी बोल्न छाड्यौ भने
यी बृक्षहरु
झरनाहरु
शिलाहरु
पँधेराहरु
सबका सब बोल्न थाल्नेछन्
जसरी बोल्ने गर्थे
तिमी बोल्न सुरु गर्नुभन्दा पहिले ।

तिमीले अब स्विकार्नु पर्छ
यिनीहरुलाई लाटा बनाउने तिमी नै हौ ।

२०७८/०५/३०

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend