२ कार्तिक २०७८, मंगलबार

पहाड र प्रेम : २८

लेखाजोखा न्यूज

२ असोज २०७८, शनिबार १:१९

डा. दामाेदर पुडासैनी

गुनासो छैन मेरो
झरिरहेका पातहरूसँग
बरु उपट्ट खुसीमा उचालिएको छु
नयाँ–नयाँ मुजुराहरूसँग

भारी बोकेर उकालो चढेको छेवाङ
बिसौनीमै भारी छोडेर
ओरालो झरेको अत्तोपत्तो छैन
धागोमा जिन्दगी बुनिनसक्दै
परदेशीसँग मुगलान हिँडेकी आङफुटीको
अझै सुख दुःखको खबर छैन

बिहानी घामजस्ता कलिला नानीहरूका अक्षरलाई
कि त कुरुम–कुरुम चपाएका छन् हिउँका दाह्राहरूले
कि छरिएका छन् कहिलेकहीँ
झुल्किने मास्टरका प्रवचनले
कि अलमल्याएका छन्
खर्क, नशा वा पार्टीका रङहरूले

एक प्याकेट जीवनजल
र, एक ट्याब्लेट सिटामोलको स्पर्श पाउन नसकेर
पहाडले थिचेभन्दा कठोर बनिरहेछ जिन्दगी
टेक्ने लौरी भाँचिएका बूढाबूढीहरूको

पोहोर परार सालजस्तै
यसपालिको हिउँदले पनि
सँभाल्नै नसकिने गरी बगायो
भरोसाका बिस्कुनहरूलाई
कसैको आशामा उम्रेका पातहरू
पहेँलिँदै, सुक्दै, बिस्तारै झरिरहेछन्
उमेरको गन्तव्य नभेट्दै ।

मुडे, दोलखा
२०६६ वैशाख १८

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend