६ असोज २०७८, बुधबार

कांग्रेस अहिले एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा : ओली

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १७:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको आरोप लगाएका छन्।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी गरे।

‘हाम्रो पार्टीबाट बिग्रिएर कोही गए सरकार बनाइदिएर प्रधानमन्त्री खाइदेउ भन्ने अवस्थामा पुग्यो काङ्ग्रेस,’ ओलीले भने। परमादेशबाट प्रधानमन्त्री हुनु लोकतन्त्र नभएको ओलीको भनाई थियो। उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी पनि गरे।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता नै एमाले भएको ओलीको दाबी छ। प्रचण्ड भने पार्टीबाट निस्किएको उनले बताए।  ‘हामीले माओवादी र एमाले मिलाएर एकीकृत पार्टी बनाएका छौं। नेकपा फुटेको छैन, प्रचण्ड समूह निस्केको हो,’ उनले भने।

उनले देशको सार्वभौमसत्ता जोगाउनका लागि कम्युनिस्ट पार्टी चाहिने बताए। उनले कम्युनिस्ट पार्टी बाहेक अरु कसैले देशको हितमा काम नगर्ने पनि दाबी गरे।

उनले एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई ध्वस्त पार्न खोजेको आरोप लगाए। आफूले अनेक अप्ठेरा सहेर पार्टी जोगाएको ओलीको भनाई थियो।

‘यो पार्टी ध्वस्त पार्न खोजिएको थियो। प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने। ओलीले मन्त्रिपरिषद दुई महिनासम्म पनि बिस्तार नहुँदा अहिलेको सरकार ओइलाएको टिप्पणी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार