६ असोज २०७८, बुधबार

फेरि विष्णु माझीको खोजी: माझीको माइतीघरमा प्रहरी पुग्दा घरमा ताल्चा

लेखाजोखा न्यूज
२९ भाद्र २०७८, मंगलबार ०७:१९

काठमाडौं। लोक गायिका विष्णु माझीको अवस्थाबारे प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको हो। पछिल्लो समय सामाजिक संजालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार भएका छन्।

यसैको कारण प्रहरील यसबारे जानकारी लिनको लागि माझीको माइतीघर पुगेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द बोगटीले दिएको जानकारी अनुसार माझीको माइतीघर पुग्दा कोही नभएको र ढोकामा ताल्चा लगाइएको थियो।

जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशबाट नै माझीको माइतीघरमा पुगेको बोगटीले बताए।

दुई वर्ष अघि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका थिए। उक्त समयमा विष्णुले आफूलाई बन्धन नबनाइएको बताएकी थिइन् ।

माझीले आफनो इच्छा अनुसार नै गुमनाम बसेको बताएकी थिइन् । पछिल्लो समय फेरि सामाजिक सञ्जालमा विष्णु माझीलाई सार्वजनिक गर्न माग गर्दै आवाज उठिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार