५ असोज २०७८, मंगलबार

पौडेल समूहलाई महामन्त्री खड्काको चुनौती : डडेल्धुरामा फेरि वडा अधिवेशन हुँदैन

लेखाजोखा न्यूज
२८ भाद्र २०७८, सोमबार १९:४५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले डडेल्धुरामा फेरि वडा अधिवेशन हुन नसक्ने बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डडेल्धुरामा फेरि वडा अधिवेशन हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मागलाई महामन्त्री खड्काले अस्वीकार गरेका हुन् ।

‘क्रियाशील सदस्यताको विवाद कार्यदलले टुंगाएको हो। फेरि वडा अधिवेशन गर्नुपर्छ भन्ने मैले सुनेको छैन । फेरि अधिवेशन हुनुपनि हुँदैन,’ महामन्त्री खड्काले भने।

महाधिवेशन भाड्ने षड्यन्त्र सुरु भयो : नैनसिंह महर

यस्तै डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने भन्नु महाधिवेशन हुन नदिने षड्यन्त्र भएको युवा नेता नैनसिंह महरले बताए ।

‘सबै पक्षमा मान्छे सम्मिलित रमेश लेखकज्यू नेतृत्वको छानविन समितिले टुंग्याएको छ । त्यसका पछि थप कृष्णप्रसाद सिटौला मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले टुंग्याएको कुरा आफ्ना मान्छे बढी देखिएका जिल्लामा मान्ने र जहाँ आफ्नो जस्तो अनुहार देखिँदैन त्यहाँ नमाग्ने हो भने के हुन्छ ?,’ महरको प्रश्न छ ।

भोलि अन्य जिल्लामा पनि आफू अनुकुलको परिणाम नआउने देखेर अधिवेशन अस्वीकार गर्ने अवस्थाले महाधिवेशन अनिश्चित बन्ने उनको भनाइ छ ।

आज वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूले मान्दैनौं भनेर विज्ञप्ति निकाल्नु भएको छ । भोलि अरुले पनि त्यस्तै विज्ञप्ति निकाल्छ । पार्टी त सबैको समान हो । पार्टीका वरिष्ठ नेताको बढी हिस्सा हुने र केन्द्रीय सदस्यको कम हिस्सा हुने होइन,’ उनले भने, ‘सबै केन्द्रीय समितिका सदस्यले पनि वरिष्ठ नेताको जस्तै विज्ञप्ति निकाले महाधिवेशन के हुन्छ ? महाधिवेशन नगराउने नियोजित षड्यन्त्रका रुपमा यो सब भइरहेको छ ।’

क्रियाशील सदस्यता विवाद यथावत रहेको तथा जिल्ला कार्यसमितिको समर्थन विना वडा अधिवेशन भएकाले स्वीकार गर्न नसकिने पौडेल पक्षको भनाइ छ । तर निर्वाचन समितिमा संयोजक महादेवप्रसाद यादवले पनि डडेल्धुरामा फेरि महाधिवेशन हुन नसक्ने बताए ।

तर कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सदस्य योगेन्द्र चौधरीले डडेल्धुरामा देखिएको क्रियाशील सदस्यता विवाद निराधार भएको बताए ।

क्रियाशील सदस्यलाई लिएर जारी विवाद नियोजित भएको उनको दावी छ । यो नियोजित रुपमा सभापतिलाई बदनाम गर्न निकालिएको विवाद हो । डडेल्धुरामा विवाद देउवाले होइन, त्यहाँको जिल्ला सभापतिले निकाल्नुभएको हो, चौधरीले भने ।

उनका अनुसार अनावश्यक रुपमा सभापति देउवालाई विवादमा पार्ने नियोजित प्रयास भइरहेको छ । छानविन समितिले सर्वसम्मत रुपले टुंग्याएको विषयमा सभापतिलाई जोडेर विवाद गर्नुको कुनै औचित्य नभएको चौधरीले बताए ।

‘डडेल्धुरामा २ हजार ८६८ को पुरानो क्रियाशील सदस्यमध्ये प्रक्रिया अनुसार २५ सय जति मात्रै वितरण गरेको पाइयो, जिल्ला सभापतिले बाँकी ३०८ क्रियाशील सदस्यता आफ्नो इच्छा अनुसार वितरण गरेको भनेर हामीकहाँ उजुरी आयो,’ चौधरीले भने, ‘त्यसरी मापदण्डविपरीत बाँडिएको सदस्यता हामीले स्वीकृत गरेनौं । अमरगढी–५ र नवदुर्गा–३ मा पनि विवाद देखिएपछि त्यहाँ नयाँलाई स्थगन गरेका थियौं ।’

समिति सदस्य चौधरीले पार्टीको विधान, नियमावली र केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेका आठ जनाको क्रियाशील सदस्यता नवीकरण नभएको बताए ।

‘यस्तो खालका निर्णयहरु अन्य जिल्लामा पनि भएको थियो । त्यहाँ कुनै विवाद भएन । यो नियोजित रुपमा सभापतिलाई बदनाम गर्न निकालिएको विवाद हो,’ उनले भने, ‘डडेल्धुरामा विवाद देउवाले होइन, त्यहाँको जिल्ला सभापतिले निकाल्नुभएको हो ।’

महाधिवेशन प्रतिनिधिमा समेत पराजित हुने खतरा देखेपछि डडेल्धुरा सभापति कर्ण मल्लले अधिवेशन बहिस्कार गरेको नेता भीमबहादुर साउदको दाबी छ ।

‘अधिकांश मान्छे अधिवेशनमा सहभागी भएका छन् । ५२ वडामै सम्माननीय सभापति (शेरबहादुर देउवा) मान्ने साथीहरु निर्वाचित हुने देखिएपछि उहाँहरुले आत्तिएर अधिवेशनमा भाग नलिनुभएको हो । उहाँ महाधिवेशन प्रतिनिधि समेत जित्न कठिन छ । १२ वर्ष डडेल्धुरामा उहाँको शासनबाट कार्यकर्ता आजित हुनुभएको छ,’ उनी भन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार