५ असोज २०७८, मंगलबार

ओलीको अडानले तनावमा भीम रावल, दिए यस्तो चेतावनी

लेखाजोखा न्यूज
२७ भाद्र २०७८, आइतबार १९:५१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएपछि उपाध्यक्ष भीम रावल तनावमा परेका छन्।

यसबारे छलफल गर्न उनले आफू निकट सांसद र नेताहरुलाई अहिले सिंहदरबार बोलाएका छन्। सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावल दुवैले दाबी गरेपछि ओलीले आइतबार बिहान आफ्नो निवास भक्तपुरको बालकोटमा उनीहरुसहितको बैठक डाकेका थिए ।

बैठकमा ओलीले रावललाई सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको बरु, पार्टी उपाध्यक्षको हैसियतमा पार्टीलाई २ जेठ २०७५ मा लैजान सुदूरपश्चिममा सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

तर सुदूरपश्चिम इन्चार्ज आफू नै हुनुपर्ने अडान ओलीसमक्ष राखेर रावल बाहिरिएका थिए । एमालेमा देखिएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिममा गठित कार्यदलमा रावल र हालका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा सामेल छन्। छलफलमा एमाले नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ पनि थिए।

सर्वोच्चले गत २३ फागुनमा एमाले ब्यूँताएको थियो। त्यसपछि ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएका थिए। जतिबेला रावल माधव नेपाल समूहमा थिए ।

नेपालको समूहमै विभाजित भएर पार्टी फुट्दा ओलीतिर रहने घोषणा गरेका रावल हाल आएर इन्चार्ज बन्न नपाएकोमा तनावग्रस्त बनेका छन् । बालकोटबाट असन्तुष्ट भएर फर्किएका रावल आइतबार मध्याह्न बोलाइएको एमाले संसदीय दलको बैठकमा समेत सहभागी भएनन्।

‘पार्टी जेठ २ मा फर्किने भनेपछि त्यो सबै कमिटीमा निःशर्त कार्यान्वयन हुनुपर्छ र १० बुँदे अक्षरशः लागु हुनुपर्छ भन्ने उहाँको भनाइ हो,’ रावलनिकट एक एमाले नेताले भने, ‘अन्य प्रदेशमा सबैको पूर्ववत् जिम्मेवारीमा फर्कन हुने, सुदूरपश्चिममा मात्रै नहुने भन्ने हुँदैन। यस्तो कुरा मान्न सकिँदैन।’

ओलीको भनाइपछि असन्तुष्ट बनेका रावलले बालकोटबाट फर्केपछि आइतबार दिउँसो नै आफूनिकट सांसदहरुसँग सिंहदरबारमा छलफल गरेका थिए। छलफलमा उनले बालकोटमा भएका कुराकानी सुनाएका थिए। रावलले योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, राजबहादुर बुढालगायत सांसदसँग छलफल गरेका थिए।

ओलीको कार्यशैलीबाट रावल सबैभन्दा बढी असन्तुष्ट र पीडित बन्न पुगेको देखिन्छ । अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा जति असहिष्णु हुँदै जान्छन् त्यति नै एमालेबाट विभाजन भएको माधव नेपाल नेतृत्वको पार्टीलाई फाइदा पुग्छ ।

ओली यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएको र एमाले स्थायी समिति र केन्द्रीय समिति बैठकले समेत अनुमोदन गरेको विषयबाट पछि हट्दै गए तेस्रो धारका धेरै नेताहरू सोच्न बाध्य हुनेसमेत उनले बताए ।

‘अहिले नै भन्न त सकिन्न, तर हामी सोच्न बाध्य हुन सक्छौँ’, ती नेताले माधव नेपालको पार्टीमा फर्कन सक्ने सङ्केत गर्दै भने, ‘राजनीतिमा इमानदारिता ठुलो कुरा हो, त्यो नै भएन भने त सक्किगो नि ।’

प्रतिक्रिया
सम्बन्धित समाचार