५ असोज २०७८, मंगलबार

एमाले सांसद नरबहादुर धामीले विमानस्थलमै उभद्रो मच्चाएपछि…

लेखाजोखा न्यूज
२३ भाद्र २०७८, बुधबार २२:०८

काठमाडौं । नेकपा एमालेका सांसद नरबहादुर धामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उभद्रो मच्चाएका छन् । कञ्चनपुर क्षेत्र नं २ का एमाले सांसद धामीले आफ्नो बेल्ट खोल्न लगाएबापत महिला प्रहरीलाई ‘साले’ भन्दै गाली गरेको खुलेको छ ।

धनगढी जाने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आन्तरिक टर्मिनलको प्रवेशद्वारमा सोमबार बिहान सांसद धामीले उक्त उभद्रो मच्चाएको स्रोतले जनाएको छ ।

श्री एयरलाइन्सको उडानबाट धनगढीका लागि प्रस्थान गर्ने बेला काउण्टरबाट बोर्डिङ पास लिएपछि झोलाहरु एक्सरे मेसिनमा हाल्ने र यात्रुले साथमा भएका बेल्ट, पर्सहरु खोलेर राख्नुपर्ने नियमअनुसार प्रहरीले नरबहादुरलाई पनि त्यसो गर्न लगाए ।

शुरुमा उनी बेल्ट नखोली अगाडि बढ्दै थिए । तर, ड्युटीमा रहेकी महिला प्रहरीले नम्रताका साथ भनिन्, ‘सर, बेल्ट खोलेर आउनुस् ।’ यसपछि आँखा बटार्दै नरबहादुरले बेल्ट त खोले, तर जाँच सकिएपछि ‘सालेहरु‘’ भन्दै दुर्वाच्य बोलेका थिए ।

माननीयले नै यस्तो व्यहोरा देखाएपछि महिला प्रहरीले चेकिङ कमाण्डरका रुपमा रहेका सई कमल अधिकारीलाई सुनाइन्, ‘सर, यसले साले भन्यो ।’

तर, सईले त्यो कुरामा त्यति ध्यान दिएनन् । ‘मान्यज्यूलाई बेल्ट पनि खोल्न लगाएको ?’ भन्दै उनले उल्टै प्रश्न गरेपछि महिला प्रहरीले थप प्रतिक्रिया दिइनन् । धामीको यो उभद्रो पहिलो भने होइन् । धामीले केही समयअघि यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालको कार्यकक्षको ढोकामा लात्ती बजारेका थिए ।

अखिलको पोखरा महाधिवेशनबाट रामकुमारी झाँक्री अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्ष भएका धामी अहिले पनि एमालेमै छन् ।

०७४ को निर्वाचनमा राजनीतिमा आफूभन्दा सिनियर काँग्रेस नेता एनपी साउदलाई पराजित गरेपछि उनको घमण्ड बढेको कञ्चनपुरका एमाले नेताहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार