डा. प्रकाशचन्द्र लोहनी नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन् । डा. लोहनीले संयुक्त राज्य अमेरिकामा फुलब्राइट कार्यक्रमअन्तर्गत इन्डियाना विश्वविद्यालयबाट एमबीए र युनर्भिसिटी अफ क्यालीफोर्निया लस एनजलसबाट विद्यावारिधि गरेका हुन् । उनले क्यालिफोर्निया स्टेट युनीभर्सिटी, नोर्थ रिज, क्यालिफोर्नियामा अध्यापनसमेत गराएका थिए । पछि उनी नेपाल फर्किएर राजनीतिमा सक्रिय भए ।
पञ्चायकालदेखि नै राजनीतिमा सक्रिय डा. लोहोनीलाई कृषि, श्रम तथा यातायात, आवास तथा भौतिक पूर्वाधार योजना, अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । उनले संसदीय समिति प्रमुखको जिम्मेवारीसमेत बहन गरिसकेका छन् । डा. लोहनी संविधान सभा सदस्यसमेत भएका थिए भने हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । नेपालको राजनीति र परराष्ट्र मामिलालाई नजिकबाट बुझेका डा. लोहोनीसँग लेखाजोखाले समसामयिक राजनीति र कूटनीतिका विषयमा कुराकानी गरेको छ ।
अहिलेको परराष्ट्र नीतिलाई कसरी हेरिरहनुभएको छ ?
अहिले नेपालको परराष्ट्र नीति लथालिङ्ग भएको छ । के भइरहेको छ भन्ने पनि कसैलाई थाहा छैन । महाशक्ति राष्ट्र हुने इच्छा लिएर हिँडिरहेका दुई ठूला देश भारत र चीनको बीचमा हामी छौं । दुई ठूला देशहरुकोबीचमा रहेको सानो देशको परराष्ट्र नीति भनेको नेपालको स्वतन्त्रता, सार्वभामिकता र नेपाली जनताको आत्मसम्मानको संरक्षण गर्दै नेपालको प्रगतिका लागि योगदान गर्ने हुनुपर्दछ । हाम्रोजस्तो सानो मुलुकले परराष्ट्र नीतिको उद्देश्यलाई प्रष्ट पार्नु पर्छ ।
सुपर पावर मुलुक अमेरिका, विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन र सुपर पावर बन्ने लक्ष्य लिएको भारतसँगको नेपालको परराष्ट्र नीति खल्बलिँदै गएको छ । हाम्रो लागि तीनवटै मुलुक अत्यन्तै महत्वपूर्ण छन् । अरु राष्ट्र पनि त्यत्तिकै महत्वपूर्ण होलान् ।
तर तीनवटा राष्ट्र अलि बढी नै महत्वपूर्ण छन् । किनभने अहिलेको संसार भनेको सरकारमाथि सरकार त छैन । यसको अर्थ दुई मुलुकबीचको विवादलाई समाधान गर्ने निकाय छैन ।
विवाद समाधान गर्ने अन्तिम विकल्प लडाईं हुन सक्ला तर त्यसअघि विभिन्न चरणमा समस्या समाधानका लागि समन्वय गर्ने निकाय भनेको कूटनीति हो, संवाद हो । विशेष गरेर कूटनीतिक संवाद सानो राष्ट्रका लागि विशेष महत्वपूर्ण हुन्छ । किनभने ठूला राष्ट्रहरुले परेको खण्डमा आर्थिक हतियार प्रयोग गर्न सक्छन् । सैन्य शक्ति प्रदर्शन गर्न सक्छन् ।
तर, साना राष्ट्रहरु, त्यसमा पनि नेपाल जस्तो राष्ट्र दुईवटा ठूला राष्ट्रको बीचमा पर्यो भने आफ्नो देशको राष्ट्रिय स्वार्थ, देशको स्वतन्त्रता, सार्वभौकितालाई बलियो गराएर लैजाने र यसको संरक्षण गर्ने अस्त्र भनेको नै परराष्ट्र नीति हो । त्यस कारण परराष्ट्र नीतिको महत्व साना राष्ट्रका लागि अति नै महत्वपूर्ण छ ।
नेपालको परराष्ट्र नीति लथालिङ्ग छ भन्नुभयो, कसरी ?
भारतसँगको हाम्रो सम्बन्ध विभिन्न कारणले लथालिङ्ग भएको छ । त्यो कतिपय अवस्थामा भारतकै कारणले पनि भएको हो । उसले नेपालको संवेदनशीलतालाई बुझ्न नसकेका कारण यस्तो भएको हो ।
तर, जे सुकै भए पनि भारतसँगको सम्बन्ध बिगार्नु उचित होइन । किनकी नेपाल र भारतबीच परापूर्वकालदेखि नै ऐतिहासिक, सांस्कृतिक सम्बन्ध हो । भारतसँगको सम्बन्ध बिग्रिएमा विगतका नाकाबन्दी र अन्य थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । चीन-भारत दुबै मुलुकसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार ढलाउन भारत लागेको छ भने अभिव्यक्ति दिनुभयो, यसलाई कसरी लिनुभएको छ ?
प्रधानमन्त्री तहबाटै अर्को देशको राष्ट्रिय चिह्नलाई तिरस्कार गर्ने, तिम्रो देशको भाइरस अर्को देशको भाइरसभन्दा कडा छ भन्ने अथवा मेरो सरकार ढलाउन लाग्यो भन्ने अभिव्यक्तिहरुले मुलुकको हित गर्दैन ।
असन्तोषहरु होलान हाम्रो राष्ट्रका थुप्रै असन्तोषहरु भारतसँग छन् । छिमेकीसँग असन्तोष हुनु स्वाभाविक पनि हो किनभने झगडाहरु छिमेकीसँगै हुन्छन् । हाम्रा नदिनालाहरु बगेर भारतमै जान्छन् । भारतले बाँध बन्द गर्दा नेपाली भूमि डुबानमा पर्छ । अहिले डुबान हुँदा नेपालमाथि पीडा आइपरेको छ ।
ती समस्याहरुको बारेमा कुराकानी गरेर निराकरण गर्नुको साटो अर्कालाई गाली गर्ने नै हो त नेपालको कूटनीति ? नेपालको कूटनीति भनेको आफ्नो समस्या समाधान गर्नेतिर होइन कि अर्को देशलाई गाली गर्ने हो त ? भारतसँगको सम्बन्ध बिग्रेर गएको छ ।
चीनसँगको सम्बन्ध राम्रो छ । चीनले नेपाललाई राम्रो सहयोग पनि गरेको छ । तर, यस्तो देखिन लागेको छ कि नेपालको सत्ता अडाउने र बिगार्नेमा भारत र चीन लागेको जस्तो देखिन थालेको छ । किनकी ओलीजीले भारत मलाई हटाउन खोजिरहेको छ भन्नुभएको छ, उहाँले हटाउन लागेकाहरुलाई भारतीय दलाल भन्नुभएको छ ।

उहाँलाई टिकाउन अर्को राष्ट्र लागेको छ । टिकाउन लागेको राष्ट्रका लागि उहाँ पनि दलाल हुनुभयो । भनेको ओलीजीले नेपालका राजीतिक दलहरुलाई दलालहरुको पार्टीका रुपमा चित्रित गर्नुभएको छ अहिलेको परराष्ट्र नीतिमा ।
अमेरिकासँग एमसीसीको कुरा गर्नुभएको छ । त्यो एमसीसीलाई सम्झौताअनुसार संसद्बाट पारित नगरेर अमेरिकासँग पनि तनावको स्थिति सिर्जना गर्नुभएको छ । यसरी नेपालको सम्बन्ध चीन, भारत र अमेरिकासँग बिग्रदै गएको छ ।
सत्तारुढ पार्टीको आन्तरिक विवाद चुलिएको बेला चिनियाँ राजदूतको नेताहरुका घरघरमा जाने कुरा नेपालका लागि कत्तिको जायज छ ?
पहिले भारतीय राजदूत जान्थे भनिन्थ्यो, अहिले चिनियाँ राजदूत जान थाले भन्दा नेपालको शक्ति सन्तुलन, नेपालका दलहरुभित्रको, दलमा पनि सत्ताधारी दलको एक पक्षले भारतीय पक्षलाई समात्ने, अर्को पक्षले चीनलाई समात्ने जस्तो किसिमको देखिएको छ, के यही हो त नेपालको परराष्ट्र नीति अहिले ?
नेपाललाई अहिले शक्तिसम्पन्न राष्ट्रहरुको क्रिडास्थलका रुपमा खडा गरिएको छ । नेपालको सरकार ढाल्ने र राख्ने भन्ने कुरा विदेशीहरुले निर्धारण गर्ने दिन आए । यही पार्टीभित्र जो सत्तामा बसेको उसले एकथरीलाई भारतको दलाल भन्नेभयो, अर्को थरीले उसलाई चीनको दलाल भन्ने भो ।
नेपालको परराष्ट्र नीतिलाई आफ्नो सीमित सत्ता स्वार्थका लागि जसरी दुरुपयोग गरिएको छ त्यसले क्षणिक लाभ कसैलाई देला तर नेपालको दीर्घकालीन राष्ट्रिय हितको लागि ठूलो नोक्सान गरेको छ ।
नेपालको सत्ता टिकाउन न चिनियाँ राजदूतको दौडधुप ठीक हो न सत्ता गिराउन भारतीय राजदूतको दौडधुप । तर दुवै राजदूतलाई आ-आफ्नो स्वार्थ पूर्तिका लागि दौडधुप गर्ने स्थिति यो सरकार आफैले खडा गरेको छ ।
नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतसँगको सम्बन्ध बिग्रेकै हो ?
अहिले त बिग्रेकै छ । यसलाई भारतले पनि सुधार्नु पर्छ, नेपालले पनि सुधार्नु पर्छ । सीमाको बारेमा विभिन्न दृष्टिकोणहरु छन् । नेपालको दृष्टिकोणले लिम्पियाधुरा नेपालकै हो, किनभने हाम्रा प्रमाणहरु छन् । भारतले त्यसलाई मानेको छैन ।
उसले नमाने पनि त्यसलाई समाधान गर्ने ‘डिप्लोमेटिक डायलग’ (कूटनीतिक वार्ता), ‘डिप्लोम्यटिक च्यानल’ (कूटनीतिक संयन्त्र) बाट जानुपर्छ । तर, गाली गरेर हुँदैन । गाली गर्ने जुन शैली देखिएको र गाली गर्नेले पनि आफ्नो सत्ता अड्याउन त्यसलाई हतियारको रुपमा प्रयोग गरेको छ ।
भारतले दुई देशका प्रधानमन्त्रीको सहमतिमा बनेको ईपीजीले तयार पारेको प्रतिवेदन नै बुझ्न आनाकानी गरेको छ अनि वार्ताको कुरा कसरी हुन्छ ?
त्यो नेपाल र भारत दुवै मिलेर बनाएको टोलीले तयार गरेको प्रतिवेदन हो । टोलीमा रहेका वरिष्ठ व्यक्तिहरुले बनाएको प्रतिवेदन भारत सरकारले बुझ्नुपर्थ्यो, बुझ्नु पर्छ ।
भारतकातर्फबाट ईपीजीमा नेतृत्व गरेका व्यक्ति (भगतसिंह कोसियारी) महाराष्ट्रको गभर्नर हुनुहुन्छ । उहाँ वरिष्ठ व्यक्तित्व हो, राजतीतिज्ञ हो । त्यस्तै नेपालकातर्फबाट ईपीजीमा सदस्य रहनुभएका व्यक्ति (निलाम्बर आचार्य) भारतका लागि नेपाली राजदूत हुनुहुन्छ । त्यो प्रतिवेदनलाई भारत सरकारले नबुझ्नु गलत हो ।
त्यो प्रतिवेदनलाई कसरी भारत सरकारलाई बुझ्ने बनाउने भन्नेबारेमा कूटनीतिक संयन्त्रमार्फत् जाने एउटा बाटो हो । तर, प्रधानमन्त्रीले नै भारतले मलाई फाल्न थाल्यो भन्न थाले भने त्यो वातावरण कसरी निर्माण हुन्छ ? सरकारले परराष्ट्र नीतिलाई नेपाली जनताको स्वार्थ र हितका लागि नभएर सत्ता टिकाउनका लागि प्रयोग गर्न थालेको देखिएको छ ।
सत्तारुढ दलकै एउटा पक्षले अर्को पक्षलाई भारतको दलाल भन्ने, अर्को पक्षले एउटा पक्षलाई चीनको दलाल भनेर नेपाललाई दलालहरुको देशका रुपमा परिणत गर्ने प्रयास अहिले भइरहेको छ ।
तपाईंले भनेझैं सरकारले परराष्ट्र नीति अवलम्बन गरेको हो भने नेपालको आगामी बाटो कता ?
यस्तो परराष्ट्र नीतिले विदेशीहरुको हस्तक्षेप बढ्दै जान्छ । विदेशी हस्तक्षेप बढ्दै जानु भनेको सरकार कमजोर हुँदै गएको उदाहरण पनि हो । स्थिर बहुमतको सरकार अस्थिर शासन छ अहिले । सरकार कमजोर हुनु भनेको नेपाल राज्य कमजोर हुनु हो ।
जब राज्य कमजोर हुँदै जान्छ तब मित्र राष्ट्रहरुले आ-आफ्नो स्वार्थका लागि सहयोगी खोज्दै जान्छन् । उनीहरुको कुरा बोल्नेहरु खोज्दै जान्छन् । अहिले देख्नुभएकै छ, चीनले एउटा पक्ष समातेको छ, भारतले एउटा पक्ष समातेको छ एउटै पार्टीभित्र पनि ।
भन्नुको मतलब नेपालको राजनीति अरुको हातमा जाने, नेपाली जनताको हितमा नहुने, नेपाली जनताले यो देखिरहँदा उनीहरुको मनमा आक्रोश बढेर जाने र राज्य नै कमजोर भएर गइसकेपछि अन्ततगत्वा यसले राज्यमा अशान्ति र अस्थिरता पैदा गर्दछ ।
ओली नेतृत्वको सरकार टिकाउन चीनको प्रत्यक्ष भूमिका देखियो । यस्तो अवस्थामा बीआरआई सम्झौताले नेपाललाई कता लैजान्छ ?
यस्तो निकम्मा नालायक सरकारले देशको रुपान्तरण गर्ने क्रममा जालाजस्तो मलाई लाग्दै लाग्दैन । सरकारले धेरै आशा गरेका दुई वर्षमा सरकारको जुन स्थिति देखिएको छ त्यसले सरकार देशकै सबैभन्दा प्रदुषित नदी टुकुचाभन्दा पनि प्रदुषित छ । जनताले देखिसकेका छन् ।
यहाँसम्मकी कोभिड–१९ महामारीको औषधि किन्न पनि उहाँहरु भ्रष्टाचार गर्न तल्लिन भएर लाग्नुभएको छ । त्यसलाई संरक्षण हाम्रो प्रधानमन्त्रीले दिइराख्नुभएको छ । यस्तो खालको भ्रष्ट, लुटाहा सरकार भएका बेलामा विदेशीहरुसित इज्जतका साथ नेपालको हितका लागि लगानी ल्याएर काम गर्छ भन्ने मलाई विश्वास छैन ।
नेपालले नयाँ राजीतिक नक्सा सार्वजनिक गरेको छ । नक्सामा समेटिएको भूमि भारतले अतिक्रमण गरेको अवस्था छ । त्यसलाई फिर्ता ल्याउन के गर्नुपर्छ ?
नक्सा प्रकरणबाट सरकारले राष्ट्रको हितमा काम गर्दा जनताले साथ दिन्छन् भन्ने पुष्टि भएको छ । नक्सा जारी गर्ने क्रममा सरकारलाई जनतादेखि सम्पूर्ण राजनीतिक दलहरुले एकता प्रदर्शन गरेर साथ दिएका छन् । एकजना नमान्ने सांसदलाई त एउटा दलले निस्कासन नै गरेको छ, जुन नेपाली राजनीतिक इतिहासमा पहिलो घटना पनि हो ।
अब योभन्दा ठूला साथ केही हुन्छ सरकारलाई ? साथ दिइसकेपछि अब वार्ता गर्नका लागि वातावरण बनाउने काम भारतको पनि हो, नेपालको पनि हो । यहाँ बसेर मलाई निकाल्न भारत लागेको छ भनेर कसरी वातावरण बन्छ । प्रधानमन्त्रीजीले वार्ताको वातावरण बिथोल्न खोज्नुभएको छ । उहाँले त वातावरण बिग्रियोस् र त्यसको फाइदा आफूले लिउँला सोचिरहनु भएको छ ।
अमेरिकाको एउटा प्रतिवेदनले नेपाल आतंकवादको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको दाबी गरेको थियो, यस बारेमा के भन्नुहुन्छ ?
परराष्ट्र मन्त्रालय जानु पर्यो नि । किन लेख्नुभयो नेपाललाई आतंकवादको ‘ट्रान्जिट प्वाइन्ट’ भनेर । अमेरिकालाई सोध्नु पर्यो । नेपालका एजेन्सीहरुले गएर समन्वय गर्नुपर्यो । गरेको छ र त्यो ?
सरकारमै बसेकाहरु आधा एउटा देश, आधा अर्को देश नजिक रहेर बसेका छन् । देशको समस्या हेर्ने फुर्सद कसलाई छ ? यहाँ त खाली सत्ता टिकाउने कुरामात्रै छ । अरु केही पनि छैन । सत्तामा टिक्ने, जति सकिन्छ लडाउने ।
तपाईहरुबीच पार्टी एकता पनि भएको छ । अब राप्रपाका एजेण्डाहरु के के हुन् ?
नेपालको पहिचान, सबै धर्मलाई सम्मान गर्दै हिन्दु राष्ट्रको पक्ष र देशलाई अभिभाकत्व दिनका लागि संविधानभित्र रहने गरी राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएर जनता सामु जान्छौं । जुन नेपालको एकता र अस्थित्वका लागि अपरिहार्य छ । अर्को एजेण्डा भनेको हाम्रो भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा हुन्छ ।