२० मंसिर २०७९, मंगलबार

मालीका राष्ट्रपतिलाई विनाशर्त मुक्तगर्न राष्ट्रसंघीय महासचिवको आग्रह

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ८:५३

काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटालाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।

सेनाको नियन्त्रणमा रहेका राष्ट्रपति इब्राहिमलाई जतिसक्दो चाँडो र विनाशर्त मुक्त गर्न महासचिव गुटर्रेसले माग गरेको प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासचिव गुटर्रेसले मालीको सेनाले उठाएको कदम पनि संविधान विपरीत भएको बताएका छन् । विज्ञप्तिमा मालीको सेनालाई गैरसंवैधानिक कदम तुरुन्त फिर्ता लिन र राष्ट्रपतिलाई नियन्त्रणबाट मुक्त गर्न भनिएको छ ।

महासचिव गुटर्रेसले राष्ट्रपति सँगसगै सैन्य नियन्त्रणमा रहेका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि विनासर्त मुक्त गर्न माग गरेका छन् । अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

राष्ट्रपति इब्राहिमले भने सेनाको नियन्त्रणबाटै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रपति इब्राहिमले मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend