२० मंसिर २०७९, मंगलबार

निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही, अरु के-के छ निषेध ?

उपत्यका प्रवेश निषेध, पत्रकारका लागि सकेसम्म न्यून संख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ८:०१

काठमाडौं । तपाईँ बिहीबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने मनसाय बानाए घर बाहिर निस्कने सोच बनाउनुभएको छ ? यदि त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।

बुधबार रातिदेखि उपत्यकामा लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा अत्यन्तै कडाई गर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, “मर्निङ वा इभिनिङ वाक जान्छु भन्‍ने सोचेर ननिस्किनुहोस्, संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन्छ ।”

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । त्यस्तै ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को संक्रमण फैलिँदै गएकाले यसअघि बन्दाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दीभन्दा बुधबार (आज) राति १२ बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एक सयभन्दा बढी संक्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत् आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । उनले आदेश पालनामा कुनै कसर बाँकी नराख्ने पनि बताए ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले बुधबार रातिदेखि लागु हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको थियो । राति १२ बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन । उक्त आदेश भदौ १० गतेसम्म लागु हुनेछ ।

निषेधाज्ञा अवधिमा अनावश्यक रुपमा मानिस घरबाट निस्किए कारबाही हुनेछ । सार्वजनिक तथा नीजि सवारी साधनसमेत चल्न पाउने छैनन् । यसपाली खाद्यान्न, औषधिजन्यबाहेकका ढुवानीसमेत रोकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।

कोभिड १९ को संक्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ । अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनेर तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून संख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौंका प्रजिअ दाहालले बताए ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारबाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारबाही हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend