२० मंसिर २०७९, मंगलबार

ओली संसारकै अहंकारी प्रधानमन्त्री : गगन थापा

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ७:४८

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली संसारकै अहंकारी प्रधानमन्त्री भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ द्घारा बुधबार आयोजित ‘श्रमिकमा कोभिड–१९ संक्रमणको जोखिम र सुरक्षाका उपायहरु’ विषयक भर्चुअल कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

उनले नेपालमा कोरोना संक्रमण नहुँदै नागरिकको सुरक्षाका लागि आफू र विज्ञहरुले पटक–पटक सुझाव दिए पनि बेवास्ता गरी संसारकै जान्ने बुझ्ने आफूमात्रै हुँ भन्ने प्रधानमन्त्रीको अहंकारले विषम् परिस्थिति सृजना भएको आरोप लगाए ।

“सरकार जनस्वास्थ्य माथि चरम खेलवाड गरिरहेको छ । महामारी हाम्रो नियन्त्रणमा हुँदाहुँदै पनि सरकारको अकर्मण्यता र संवेदनहिनताले स्थिति तनावपूर्ण बन्दै गइरहेको छ,” थापाले भने, “अहिले कोभिड–१९ बाट मृत्यु भएका मध्ये दुई–तीन जनाबाहेक अरु सबै सरकारको लापरबाहीले मृत्यु भएको हो । त्यसैले यो मृत्यु नभइ प्रधानमन्त्रीको अहंकारले हत्या भएका हुन् । यस्तो अवस्थामा समेत स्वास्थ्य मन्त्रालयले केही गर्न नसक्नु, लाचार देखिनु दुर्भाग्य हो ।”

उनले नागरिकको सुरक्षा, रोजगारी गुमाएका युवाको समस्या र दैनिक छाक टार्न गाह्रो भएका श्रमिकको समस्या छोडेर कुर्सीको लडाइँ, मन्दिर, धर्म र खोक्रो राष्ट्रवादको नारा, कुनै निरंकुश शासकले पनि गर्न नसक्ने ठोकुवा गर्दै नेकपा नेतृत्वको सरकारमा संवेदना नै नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend