२२ मंसिर २०८०, शुक्रबार

१७ वर्षीया किशोरीलाई प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ५:४२

काठमाडौं । एक किशोरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । १७ वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ ।
सुरुमा प्रलोभनमा पारेर किशोरीलाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनले आफ्नो साथीमार्फत ट्याक्सी चढाइ चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगीले भारतको एक नचिनेको पुरुषलाई किशोरी जिम्मा लगाएर फर्किएका थिए ।

भारतीय व्यक्तिले निज किशोरीलाई अश्लिल भिडियो देखाइ मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै डर त्रासमा राखेर चरम यातना दिएको खुलेको छ । उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगार लगाइदिने बहानामा भारतका विभिन्‍न ठाँउमा लग्‍ने गरेको पीडित किशोरीले बताएकी छिन् ।

त्यही सिलसिलामा किशोरी पीडकको आँखा छलेर भाग्‍न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत किशोरी कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् किशोरीलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

एक वर्षअघि उक्त घटना भएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए । उनका सहयोगी भने फरार छन् । उनको खोजी जारी रहेको जनाइएको छ ।

अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो । अर्पण भनिने राजु तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडाँै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend