काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वायत्त संस्था प्रेस काउन्सिल, नेपालमा हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट गुटको अधिनमा राख्ने प्रयास भएको आरोप लगाउँदै कांग्रेसले काउन्सिलमा ठाडो हस्तक्षेप नगर्न सचेत गराएको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रेस काउन्सिललाई केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति कांग्रेसको प्रष्ट विमति रहेको बताएका छन् । “प्रेस काउन्सिललाई केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेस प्रष्ट विमति राख्छ,” विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले प्रेस काउन्सिललाई गुटगत प्रचारको कोटरी बनाउने निर्णय फिर्ता लिन र सरोकारवालाहरुसँग छलफल गरेर समाधानमा पुग्न पनि आग्रह गरेको छ । विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुस्प्रयासले मुर्तरुप पाउन नसकिरहेको बेला सरकारले ठाडो हस्तक्षेपमार्फत् काउन्सिललाई केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालेको कदममा सहमत हुन नसकिने कांग्रेसले प्रष्ट्याएको छ ।
“नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन एवं अन्य सरोकारवाला संस्थाहरुसंग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा प्रमुख प्रतिपक्षी दलको समर्थन नरहने सार्वजनिक जनाउ दिँदै गुटगत प्रचारको कोटरी काउन्सिललाई बनाउने निर्णय फिर्ता लिएर सरोकारवालाहरुसंग संवादमार्फत् समाधानमा पुग्न नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्रीज्यूलाई सार्वजनिक रुपले अपील गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।