२२ मंसिर २०८०, शुक्रबार

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, के–के कुरा गर्न नपाइने ?

नियमित सेवा प्रदान गर्ने कार्यालयका कर्मचारीले फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्नुपर्ने छ

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ७:०३

काठमाडौं । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भएसँगै काठमाडौं उपत्यकामा आज (बुधबार) देखि निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको सुरक्षा समितिको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएकोभन्दै बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभर लागु हुने गरी विभिन्न गतिविधिहरू गर्न÷गराउन निषेध गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

“कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम हाल मिति २०७४।०५।०३ गते राति १२ बजेदेखि २०७७।०५।१० गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभर लागु हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्नरगराउन निषेध गरिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । यस्तै अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार–व्यवसायहरु बन्द रहने छन् ।

उक्त अवधिमा अत्यावश्यक उपभोग्यवस्तुको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको छ । “आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

के–के कुरा गर्न नपाइने ?

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न ।
३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न ।
४. जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न ।
५. कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न ।
६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।
७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।
८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न ।
९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।
१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।
११. फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।
१२. होटेल, रेष्टुरा सञ्चालन गर्न ।
१३. बैंकिङ सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइ सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्ने गराउने गरी आवश्यक सेवा प्रबाह गर्नुपर्ने छ ।
१४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।
१५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिने छ ।
१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुनबमोजिम कारबाही हुनेछ ।
१७. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend