२० मंसिर २०७९, मंगलबार

के-के हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरु ?

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ५:४२

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा देखि कर्फ्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको डा. खतिवडाले बताएका छन् ।

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको डा. खतिवडाले बताए ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धि क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपलस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उनले बताए ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरु पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारवाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

सरकारले सिन्धुपाल्चोक र कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ ।

विपदका घटनामा परी मृत्यु भएका परिवारमा एकजनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति एक लाखका दरले राहत सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । विपदबाट घरबहाल नष्ट भएका र खाद्यान्न बाली तथा जग्गा जमिन र पसल व्यवसाय समेत नष्ट भएकाहरुको हकमा प्रति ५ जानाको परिवारलाई १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भएमा प्रति परिवार २० हजार रुपैयाँ सहयोग गर्ने निर्णय सरकारले गरेको उनले बताए ।

घर पूर्णरुपमा क्षति भएको र सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने अवस्था भएमा प्रति परिवार एक लाख रुपैयाँ सम्म आर्थिक सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ । घाइतेलाई अस्पतालमा उपचार गराउँदाको लागिलाग्ने खर्च र प्रतिव्यक्ति एक हजार रुपैयाँ बाटो खर्च र यातायात खर्च दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई पदमुक्त गरेको छ । श्रेष्ठका ठाउँमा दुर्गा भण्डारीलाई कार्यवाहक तोकिएिको एकमन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि प्रेस काउन्सिलमा सदस्य नियुक्त भएकी थिइन् ।

नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ । बोर्डको सदस्यमा पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गरेको मन्त्री खतिवडाले बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोक्कालाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ । समाज कल्याण परिषद्मा रिक्त कोषाध्यक्ष पदमा लोकमान सुवेदीलाई मनोनयन गरेको छ ।

त्यसैगरी सरकारले बेल्जियम-ईयू, जर्मनी र पाकिस्तानका लागि तीनजना राजदूत नियुक्त गरेको छ ।

बेल्जियम–ईयू, पाकिस्तान र जर्मनीका लागि राजदूतमा सिफारिस

विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्नका लागि अर्थमन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

यस्तै सासेक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदेढीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर २ सय मिलियन (करिब २३ अर्ब ८८ करोड) बराबरको सहुलियतपूर्ण ऋण र नर्वे सरकारको तर्फबाट पप्त हुने अमेरिकी डलर ३५ मिलियन (करिब ४ अर्ब १८ करोड रुपैयाँ) बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend