२० मंसिर २०७९, मंगलबार

उद्धार उडान स्थगित, दुबईबाट रित्तै फर्कियो जहाज

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ३:५६

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टाइन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

कोरोनाको संक्र्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषण गर्ने क्रम पनि बढिरहेकाले होटल क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।

हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात अगष्ट १७ तारिखदेखि दैनिक पाँच सय नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो ।

निर्णयअनुरुप नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टड उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए ।

नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए । विदेशमा अप्ठे्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ वटा उडान अनुमति दिएको थियो ।

दुबईबाट रित्तै फर्कियो निगमको जहाज

नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको छ । काठमाडौंबाट २३१ यात्रु लिएर सोमबार दुबई गएको वाइड बडी जहाज मंगलबार बिहान रित्तै काठमाडौं फर्किएको हो ।

काठमाडौंबाट विभिन्न मुलुक जानेभन्दा पनि विदेशी गन्तव्यबाट नेपाल फर्कने यात्रुको अत्यधिक चाप रहेको र मागअनुसार सिट दिन नसक्ने अवस्था रहेको पनि निगमले उल्लेख गरेको छ । निगमले मंगलबारदेखि अनिश्चितकालका लागि सबै अन्तर्राष्ट्रिय चार्टड उडान बन्द गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend