१३ मंसिर २०७९, मंगलबार

वामदेवको प्रश्‍नले हच्‍किए ओली, ‘राजीनामा मागे के गर्नुहुन्छ ?’

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ४:०८

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक विवाद समाधानको मस्यौदा तयार गर्न गठित कार्यदलप्रति उपाध्यक्ष वामदेव गौतमले विमति जनाएका छन् ।

पार्टीको आन्तरिक विवाद समाधानका लागि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य छन्।

ओली र प्रचण्डबीच भएको गोप्य सम्झौतालाई औपचारिकता दिन मात्रै कार्यदल गठन गरिएको बताइएको छ । कार्यदल गठनबाट पार्टीभित्र सहमति जुटाउने एउटा विकल्पको आशा जागे पनि आशंका पनि उत्तिकै रहेको छ ।

उपाध्यक्ष गौतमले सोमबारको सचिवालय बैठकमै कार्यदलको औचित्य र कार्यक्षेत्रमाथि प्रश्‍न उठाएका थिए । उपाध्यक्ष गौतमले अहिलेका समस्याहरु सचिवालयबाट सिर्जना भएको भन्दै त्यही निकायबाट समाधान खोज्‍नुपर्ने यसअघि भन्दै आएको ओलीको अभिव्यक्तिलाई समर्थन गरेका थिए ।

तर, सचिवायमा ओलीको बहुमत भएपछि स्थायी कमिटीको माग गरेका प्रचण्डले मध्यमार्गी बाटो कार्यदल हुने भन्दै कार्यदल गठन गरिएको थियो ।

उपाध्यक्ष गौतमले कार्यदलप्रति आशंक व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रश्‍न गरे, “कार्यदलले राजीनामा दिनुपर्छ भन्यो भने के गर्नुहुन्छ ? राजीनामा दिने ? यो कार्यदल सचिवालयभन्दा माथि छ कि तल छ ?”

स्थायी कमिटीबाटै ओलीको राजीनामा ११ स्थायी कमिटी सदस्यहरुले माग गरेका थिए । राजीनामा माग गर्नेमध्यकै एक वामदेव गौतम र कार्यदल गठनको सहमति गर्ने प्रचण्ड पनि हुन् । कार्यदलमा प्रचण्ड-नेपाल पक्षका दुई-दुई गरी चार जना र ओली पक्षका दुई जना छन् ।

पछिल्लो समय उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीले पाँच वर्षको बाँकी अवधि प्रधानमन्त्री रहने प्रस्ताव गरेका थिए ।

कार्यदल गठनको प्रक्रियाप्रति सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । कार्यदलले मन्त्रिपरिषद्‌ हेरफेर गर्नेसमेत जनाइएको छ ।

कार्यदलले भने शनिबारबाटै आफ्नो काम सुरु गरेको छ। सो कार्यदलले चाँडै प्रतिवेदन बुझाउने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend